नायिका रेखा थापाले मंगलबार ट्विटरमा आफ्ना श्रीमान् बलराम शाहीसँगको एक तस्वीर राख्दै लेखिन्–‘भविष्य पनि गजबको उपहार हो । जो नआउँदै हामीलाई किस्ता किस्तामा खुशी पठाइदिन्छ ।’

रेखाले यहाँ कस्तो भविष्यको कुरा गरेकी होलान् भन्ने धेरैलाई लागेको हुनसक्छ । तर, नेपाल फिल्म क्षेत्रमा कुनै समय एक छत्र राज गरेकी यी नायिकाले आफू आमा बन्न लागेको खबर घुमाउरो तरिकाले आफ्ना शुभचिन्तकहरु माझ शेयर गरेकी छिन् । 

गतबर्ष प्रेमी बलराम शाही ठकुरीसँग बैबाहिक जीवनमा बाँधिएकी रेखा आमा बन्ने तयारीमा छिन् । विशेष श्रोतका अनुसार, रेखाको पेटमा ५ महिनाका सन्तान हुर्किदैछन् । रेखाले, श्रीमान्सँगको तस्वीर शेयर गर्दै सन्तान आवागमनको प्रतीक्षा गर्दै खुशी साटेकी हुन् । 

रेखाले फिल्म ‘उपहार’को छायांकन पनि गरिरहेकी छिन् । रेखाको पेट बढ्दै गएपछि निर्देशक ज्ञानेन्द्र देउजाले उनका दृश्यहरुको छायांकन पहिले गरिरहेका छन् । यसैले, रेखा फिल्मको छायांकन सुरु भएपछि एक दिन पनि खाली नबसी निरन्तर काम गरिरहेकी छिन् । फिल्मको छायांकन सकेपछि रेखाले पूर्ण रुपमा आराम गर्नेछिन् । 

केही दिन अगाडि चलचित्र विकास बोर्डले संविधान दिवसको उपलक्ष्यमा आयोजना गरेको सम्मान कार्यक्रममा पनि रेखा पुगेकी थिइनन् । रेखाले बढ्दै गरेको पेट मिडियाबाट लुकाउन खोजेको वुझिएको छ । 

संभवत, यो बर्ष रेखाका लागि दुई वटा खुशी मिल्नेछ । किनकी, एक त उनी आमा बन्ने तयारीमा छिन् । यसैबर्ष, सन्तानलाई जन्म दिने भएकाले पनि रेखाको जीवनमा सबैभन्दा ठूलो खुशी मिल्नेछ । अर्कोतिर, रेखाले निर्माण तथा अभिनय गरेको फिल्म ‘उपहार’ पनि यसैबर्ष रिलिज हुँदैछ । यसैले, रेखाका लागि यसपटक दोहोरो खुशी मिल्नेछ । 
रेखा र बलरामलाई धेरै धेरै बधाई छ ।