मोरङः उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रभावकारी सीमा सुरक्षा व्यवस्था मिलाउन र शून्य शहनशीलताको नीति अनुरुप भ्रष्टाचार नियन्त्रणका लागि सबै सुरक्षा निकायहरू एक आपसमा समन्वय गर्दै कार्य सम्पादन गर्नुपर्ने बताएका छन । 

विराटनगरको बिग होटलमा सोमबार आयोजित सुरक्षा सम्बन्धी समसामयिक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले उक्त कुरा बताएका हुन । साथै उनले सुरक्षा निकायहरूले एक आपसमा समन्वय एवम् सहकार्य गर्दै शान्ति सुरक्षा कायम गर्ने सन्दर्भमा देखिएका विभिन्न समस्याहरूको समाधानको लागि थप सक्रिय हुनुपर्नेमा जोड  दिए। 

कार्यक्रममा गृह सचिव दिनेश भट्टराईले हालको सुरक्षा चुनौतिहरूलाई मध्यनजर गरी भरपर्दो सुरक्षा योजना अनुसार सुरक्षा व्यवस्था मिलाउन र आम नागरिकहरूलाई सुरक्षाको प्रत्याभूति दिलाउन सबैको समन्वय र सहकार्य जरूरी रहेको बताए। प्रदेशको शान्ति सुरक्षाको अवस्था सुदृढ बनाउन नागरिकहरूमा सेवा प्रवाहको लागि सहजिकरण गर्दै विकास निर्माणलाई गति दिन र सु शासन कायम गर्न सुरक्षा निकायलाई उनले निर्देशन दिए।

 सो अवसरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सचिव डा दिपक काफ्लेले प्रदेशको सुरक्षा व्यवस्थामा सबै सुरक्षा निकायको निरन्तर सहकार्य र समन्वय भइरहेको साथै चाडपर्व समेत नजिकिँदै गरेको अवस्थामा सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउनु पर्ने आवश्यकता रहेको बताए। 

384105566_638426068419920_8674357225109193062_n

कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नागरिकको मौलिक हक र अधिकारको संरक्षण गर्न नेपाल प्रहरी सदैव गम्भीर रहेको उल्लेख गर्दै समाजमा शान्ति सुरक्षा कायम राख्न नेपाल प्रहरी अहोरात्र सक्रियताका साथ खटिएको बताए । खुल्ला सिमानाका कारण हुन सक्ने चोरी तस्करी नियन्त्रणमा सम्पूर्ण सुरक्षा निकायहरूले आपसी समन्वय गरी प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने उनले बताए।  

कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापाले समेत सुरक्षा सम्बन्धी आ(आफ्नो धारणा व्यक्त गरेका थिए।  कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रदेश प्रमुख र राष्ट्रिय अनुसन्धान विभागका प्रदेश प्रमुखहरुले समग्र प्रदेशको वर्तमान सुरक्षा अवस्थाको बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो भने झापा, मोरङ, सुनसरी, ईलाम, धनकुटा र उदयपुरका प्रमुख जिल्ला अधिकारीहरूले आ(आफ्नो जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्था र वस्तुस्थिति बारेमा प्रस्तुतीकरण गरेका थिए। 

कार्यक्रममा सुरक्षा निकायका प्रदेश प्रमुखहरू, झापा, मोरङ, सुनसरी, ईलाम, धनकुटा र उदयपुर जिल्लाका सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो भने पहाडी ८ जिल्लाका सुरक्षा निकायका प्रमुखहरूले भर्चुअल माध्यमद्वारा सहभागिता जनाएका थिए ।