विराटनगरः  कोशी प्रदेशको सुरक्षा अवस्थाको बारेमा छलफल गर्न आज सुरक्षा बैठक बस्दै छ । बैठकमा मुख्य गरी कोशी प्रदेशका ६ जिल्लाको सुरक्षा अवस्था र रणनीतिको बारेमा छलफल गर्ने योजना छ । 

विराटनगरको बिग होटेलमा आयोजना गरिएको बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गृह सचिव दिनेश भट्टराई तथा तीन वटै सुरक्षा निकायका प्रमुखहरू सहभागी हुने छन । 

पछिल्लो समयमा कोशी प्रदेशमा देखिएका सामाजिक सद्भाव विपरीतका क्रियाकलाप, पहिचान आदि नाममा भइरहेको आन्दोलन र अन्य राजनीतिक गतिविधिले सुरक्षा चुनौती थपेको  छ । बैठकमा ती सबै विषयमा छलफल हुने बताइएको छ । 

बैठकमा नेपाल प्रहरीका आइजिपी वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी आइजिपी राजु अर्याल, राष्ट्रिय अनुसन्धानका विभागका प्रमुख र सांसदसमेतले ब्रिफिङ लिने कार्यक्रम रहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । 

सुरक्षा सम्बन्धी छलफल गृहमन्त्री श्रेष्ठले ८ बजे उद्घाटन गरेपछि कोशी प्रदेशको ६ जिल्लाका प्रमुखले जिल्लागत सुरक्षा अवस्थाबारे ब्रिफिङ गर्नेछन । छलफलमा इलाम, झापा, धनकुटा, उदयपुर, सुनसरी र मोरङका प्रमुख जिल्ला अधिकारीहरूले जिल्लागत सुरक्षा अवस्थाबारेमा बैठकमा जानकारी गराउने कार्यक्रम छ । 

पहिलो सत्रको समापन गरेपछि सोमबार दिउँसो साढे १२ बजेपछि राजनैतिक दल नागरिक समाजहरूसँग समसामयिक विषयमा छलफल गर्ने गृहमन्त्रीको कार्यसूची तय गरिएको छ । अन्तरक्रिया कार्यक्रममा कोशी प्रदेशका सबै राजनैतिक दलका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधिको उपस्थिति रहनेछ । सोमबार साढें ३ बजे गृहमन्त्री श्रेष्ठले मन्तव्य राखेपछि कार्यक्रम समापन हुने छ ।