काठमाडौंः सुक्रबारबाट देशभरका हलमा रिलिजमा आएको फिल्म ‘नाङ्गो गाउँ’ले सुखद सुरुवात गरेको छ।आज बिहानैबाट फिल्ममा दर्शकको चाप राम्रो रहेको छ । मल्टिप्लेक्सहरुमा दर्शकको चाप सुखद देखेपछि यसको निर्माणपक्ष उत्साहित देखिएको छ ।

मध्यान्नपछिका शोहरुमा बुकिङ उच्च देखिएको छ । यसैले, यो फिल्मले आज राम्रो ओपनिङ गर्ने संकेत दिएको छ । दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मलाई दर्शकले पनि राम्रो भनेका छन् । आh बिहान काठमाडौंको एफक्यूब हलमा फिल्म हेर्न पुगेका दर्शकहरुले ‘नाङ्गो गाउँ’ राम्रो फिल्म बनेको बताए । केही दर्शक त यो फिल्मको हिट गीत ‘सुन सुन सुन्दरी’मा हल भित्रै नृत्य समेत गरिरहेका थिए ।

फिल्म हेरेर फर्किएका अधिकांश दर्शकले यो फिल्मको कथावस्तु, दिन खोजेको सन्देश मन परेको बताए । कतिपयले फिल्मको क्लाइमेक्सले भावुक बनाएको समेत बताए । फिल्म हेरेर फर्किएका दर्शकले गज्जब भनेपछि यसका निर्देशक दीपेन्द्र लामाले खुशी व्यक्त गरे । यो फिल्मले जनतालाई मतदानको बिषयमा सचेत गराएको छ । फिल्मले दिन खोजेको सन्देश हरेक मतदाताले वुझ्नु पर्ने फिल्मकर्मीहरुको पनि भनाई छ ।

हिमाल कडरियाको प्रस्तुतिमा तयार भएको यो फिल्ममा जय श्रेष्ठको लगानी छ । फिल्मका कार्यकारी निर्माता रामहरि श्रेष्ठ हुन् । यो फिल्ममा दयाहाङ राई, मिरुना मगर, शिशिर वाङ्देल, साम्राज्ञी राज्यलक्ष्मी शाह, कर्मा, विशाल पहारी, वुद्दि तामाङ, रविन्द्र झा लगायतका कलाकारको अभिनय छ ।