काठमाडौंः पाकेको फलमा सबैको आँखा लाग्छ । चाहे त्यो फल बोटको होस् या बिक्रीमा नै राखिएको किन होस् । पछिल्लो समयमा नेपाली फिल्म वृत्तमा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरलाई पाकेको फलसँग तुलना गर्दा फरक नपर्ला । किनकी उनीहरुलाई आफ्नो फिल्ममा लिन निर्माताहरु मरिहत्ते गर्छन् । निर्माताहरु उनीहरुलाई लगानी सुरक्षित गर्ने मानकका रुपमा नै लिन्छन् । 

फिल्म ‘कबड्डी ४’ र ‘जारी’को सफलताले दया र मिरुनालाई एकपछि अर्को फिल्ममा काम गर्न भ्याइनभ्याई नै छ । भोलिबाट रिलिज हुने फिल्म ‘नाङ्गो गाउँ’ होस् या फ्लोरमा गएको फिल्म ‘रङ्गेली’ नै किन नहोस् । अथवा घोषणा भएर फ्लोरमा जाने तयारीमा रहेका केही फिल्ममा पनि दया र मिरुनाकै जोडी दर्शकले हेर्न पाउनेछन् ।

अभिनयको अनुभव हेर्दा दयाहाङ मिरुना भन्दा धेरै गुना सिनियर हुन् । त्यहीकारण पनि मिरुना अन्य अभिनेताभन्दा दयाहाङसँग अनस्क्रिन जोडी बाँधिन चाहन्छिन् । उनको बुझाईमा दयाहाङसँगको अभिनयले उनलाई अभिनय सिक्न मद्दत मिलेको छ ।

दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको फिल्म ‘नाङ्गो गाउँ’मा दयाहाङ शिक्षक र मिरुना स्वास्थ्य स्वयम् सेविकाको भूमिकामा देखिएका छन् । फिल्मको सार्वजनिक टिजर र ट्रेलरले पनि दर्शकलाई फिल्मप्रति कौतुहलता रहेको सामाजिक सञ्जालमा लेखिएका टिप्पणीबाट बुझ्न सकिन्छ ।

दयाहाङ र मिरुनाले पहिलोपटक फिल्म ‘कबड्डी ४’मा स्क्रिन शेयर गरे । यो फिल्म बक्सअफिसमा ब्लकबस्टर साबित भयो । यसपछिको उनीहरुको सहकार्य रहेको ‘जारी’ले त प्रदर्शनको सय दिन नै मनायो । धेरै लामो समयपछि नेपाली फिल्मले सय दिनको सुखद क्षण पाएको थियो ।

‘नाङ्गो गाउँ’ले राजनीतिक कथालाई उठान गरेको छ । दयाहाङ वर्तमान राजनीति प्रति चासो राख्छन् । तर उनी राजनीतिमा आउन चाहदैनन् । ‘मलाई राजनीति भन्दा फिल्म नै सजिलो लाग्छ’, उनी भन्छन् ।

मिरुनाले आफ्नो करियरमा पहिलोपटक राजनीतिक कथावस्तुको फिल्ममा अभिनय गर्दैछिन् । उनले ‘नाङ्गो गाउँ’मा अभिनय गर्दा गाउँको राजनीति बुझ्ने मौका पाएकी छन् । सुरुवाती समयमा मिरुना नेपाल नबसे पनि उनलाई नेपालको वर्तमान राजनीति प्रति केही ज्ञान थियो । उनलाई देशको पूर्ण राजनीतिक चित्र थाहा नभए पनि ‘नाङ्गो गाउँ’को अभिनयले राजनीति बारे बुझ्न सहयोग गरेको रहेछ ।

फिल्मको बुधबार साँझ राजधानीमा प्रिमियर गरिएको थियो । प्रिमियरमा उपस्थित फिल्मकर्मी, पत्रकार, सञ्चारकर्मीले कथावस्तु मनपरेको प्रतिक्रिया दिएका थिए । प्रतिक्रिया सुनिरहँदा दयाहाङ र मिरुना विशेषत खुशी देखिन्थे । 

दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको फिल्म ‘नाङ्गो गाउँ’मा मिरुना र दयाहाङसँगै कार्म, साम्राज्ञी राज्यलक्ष्मी शाह, बुद्धि तामाङ, शिशिर वाङ्देल, रविन्द्र झा, अंकित खड्कालगायतका कलाकारको अभिनय छ ।

सबै पाकेका फल मिठा हुन्छन् भन्ने पनि छैन । बाहिर हेर्दा खाउँ खाउँ लाग्ने फल चाखेपछि बेस्वादका पनि छन् । कुनै कुनै पाकेका फल त अस्वीकृत पनि भएका छन् । दयाहाङ र मिरुनाका अघिल्ला दुई सहकार्यले दर्शकलाई मिठो स्वाद दिइसकेको छ । ‘नाङ्गो गाउँ’ले दयाहाङ र मिरुनाको सहकार्य रहेको ‘कबड्डी ४’ र ‘जारी’को जस्तै मिठो स्वाद दर्शकलाई दिन सक्छन् या सक्दैनन्, फिल्म रिलिजपछि प्राप्त प्रतिक्रियाबाट नै थाहा हुनेछ । नेपालीमा उखान छ, ‘चिनी पनि धेरै खाँदा तितो हुन्छ’ । दयाहाङ र मिरुनाको जोडी फिल्मका लागि जति गुलिया छन्, दर्शकले पनि त्यो गुलियोपनको अनुभव गर्न सके यो जोडी नेपाली फिल्म उद्योगका लागि नयाँ ‘हिटमेकर’ बन्न सक्नेमा कुनै द्विविधा छैन । मेरो फिल्मबाट