इटहरीः नायिका मिरुना मगर र नायक दयाहाङ राइको मुख्य भूमिका रहेको फिल्म ‘नाङ्गो गाउँ’ शुक्रबारदेखि रिलिज हुँदैछ । तर, यी दुइको मुख्य भुमिका रहने फिल्म ‘रङ्गेली’को भने आजबाट मोरङमा छायांकन सुरु भएको छ । 

सोमबार फिल्मको शुभसाइत माली मन्दिर रंगेलीमा गरिएको थियो । आजबाट भने फिल्मको छायांकन इटहरीमा सुरु भएको छ । 

यो फिल्ममा अर्पण थापा, प्रविण खतिवडा लगायतका कलाकारको पनि मुख्य भूमिका रहनेछ । तर, फिल्मका मुख्य २ कलाकार दया र मिरुना भने केही दिनपछि मात्र फिल्मको छायांकनमा जोडिनेछन् । फिल्म ‘नाङ्गो गाउँ’ रिलिजपछि मात्र यी दुई फिल्मको छायांकनमा जोडिने वुझिएको छ । 

अर्जुन सुवेदीको निर्देशनमा बन्न लागेको यो फिल्ममा संसार चौलागाँई र रमेश भट्टराइको लगानी रहनेछ । जितेन्द्र खतिवडा र अनुज जङ्ग थापा कार्यकारी निर्माता रहेको फिल्मका सह–निर्मातामा शिव थपलिया र यूवक कार्की छन् । सुसश प्रजापतिको छायांकन रहने यो फिल्म ग्याङस्टारको कथामा बन्नेछ । 

यो फिल्मलाई फागुणको २५ गतेबाट रिलिजमा ल्याउने तयारी निर्माणपक्षको छ । प्लानेट थ्री फिल्मस् एण्ड प्याराडाइज पिक्चर्सको ब्यानरमा यो फिल्म बन्नेछ ।