काठमाडौँः संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले मुलुकमा व्याप्त विसङ्गतिहरूलाई पन्छाउन क्रियाशील रहँदै आएकामा आफ्नै मान्छेहरूबाट आफूलाई नाजायज दबाब दिने र घेराबन्दीमा पार्ने काम भइआएको भन्दै त्यसप्रति दुःख व्यक्त गरेका छन ।
‘नेपालका बौद्ध तीर्थस्थलहरू’ शीर्षक पुस्तकको आज यहाँ लोकार्पण गर्दै उनले मुलुकलाई धोका दिने काम नगर्ने बरु राजीनामा गर्ने बताए । “पटक पटकको घेराबन्दी तोड्नुभएका प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डको नेतृत्व विगतमा युद्ध लड्नका लागि मात्र हैन अहिले मुलुकका लागि समृद्धि हासिल गर्न पनि त्यतिकै आवश्यक छ,” उनले थपे।
पुस्तकका लेखक तथा सम्पादक गेशे थुब्तेन शेराब हुन् । बुद्धसँग सम्बन्धित तीर्थस्थलहरू, बोधित्वसँग सम्बन्धित तीर्थस्थलहरू र बज्रयान सम्बन्धित तीर्थस्थलहरू गरी तीन खण्डमा विभाजित उक्त पुस्तक अनुसन्धान केन्द्र, लुम्बिनी बौद्ध विश्वविद्यालय, पर्सा र नेपाल बौद्ध महायान केन्द्र गुम्बा, कपनले प्रकाशन गरेको हो ।
नेपाली तथा तिब्बती भाषामा निकालिएका दुवै प्रति पुस्तकको थेरवाद, महायान र बज्रयानका धर्मगुरुहरूको उपस्थितिमा लोकार्पण गरिएको हो । गुरु लोसाङ नाम्ग्याल रिम्पोछेको सभाध्यक्षतामा भएको उक्त कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका प्रो। सुमन्तराज न्यौपाने तथा इन्टरनेशनल बुद्धिष्ट एकेडेमीका खेन्पो डा ङवाङ ज्योरदेनले पुस्तकमाथि समीक्षात्मक टिप्पणी गरेका थिए । रासस