बागलुङः 


कर्मसँग दिक्दारै परियो

रुँदारुँदै पोखरी भरियो


उमेरले भर्खर ४६ वर्ष टेकेका बागलुङ नगरपालिका–१२ अमला चौरका विष्णु गन्धर्वको सारङ्गीबाट निस्किएका धुनले जीवनको उत्तरार्धको कथा बोल्दै थिए ।


विष्णु सुखःदुख, परदेशी र घर देशीका मात्रै होइन आफ्नै जीवनका कथा पनि सारङ्गी रेटेर गीत गाउँदै हिँडेको ३५ वर्षभन्दा बढी भयो । बाल्य कालदेखि नै परदेशीका गीति कथा बोकेर इष्टमित्रको घरदैलो गर्दै आएका विष्णु केही वर्ष पहिले सारङ्गी रेटेर परिवार पाल्न मुस्किल भएपछि रोजगारीका लागि विदेश गए ।


भारत पुगेर केही वर्ष सुरक्षा गार्डको जागिर गरेर विष्णुका छोरा कमाउन सक्ने भएपछि विष्णु पुर्ख्यौली पेसामै फर्किए। पछिल्लो दुई वर्षदेखि विष्णु पुनः सारङ्गी रेट्दै छन ।

हिमाल चुच्चे टाकुरीमा सुन मेरो घर

खेती किसान केही छैन, सारङ्गीको भर


सारङ्गीको धुनसँगै गीत मिसाएर विष्णुले आफ्नो बाध्यता बोल्छन । “गरेर खाने जग्गा जमिन छैन, पेसा व्यवसाय गर्नलाई पुँजी छैन, रोजगार गर्नलाई शिक्षा छैन, सीप छैन”, उनले भने, “सारङ्गी रेट्नु, गीत गाउनु उहाँको रहर मात्र होइन, बाध्यता हो ।”


सारङ्गी रेट्ने र गीत गाउने कला विष्णुका लागि ‘बाजे र बा’ ले छाडेर गएको पुर्ख्यौली सम्पत्ति हो । बाउ बाजेले सिकाएको सीपले १० वर्ष पहिलेसम्म विष्णुले आफ्नो परिवार सजिलै पाल्थृे । मङ्सिरमा मुरीका मुरी धान उठ्थ्यो, मौसमअनुसार प्रत्येक घरका इष्टले दुईरचार झोता मकै दिन्थे, माघमा कोदो, जेठ असारमा गहुँ, लाहुरे आउँदा कपडा र कम्मल उठाएर विष्णुको परिवार चल्थ्यो । तर, आजभोलि पहिलेजस्तो आम्दानी नभएको विष्णुको भनाइ छ ।


एउटा घरबाट एक मुठी चामल र रु २० पनि मुस्किलले मिल्ने गरेको बताउँदै उनले आफूले जस्तो दुःख भावी पुस्ताले गर्न नपरोस् भन्ने कामना गर्छन । सरकारले आफूजस्तै गन्धर्व र उनीहरूका परिवारको संरक्षणको लागि चासो नदिएको उनको भनाइ छ । स्थानीय जनप्रतिनिधिले आफ्नो समुदाय, कला र कलाकार बचाउनका लागि केही पनि नगरेको उनको गुनासो छ ।


विष्णुले सारङ्गी रेट्ने मात्र होइन, सारङ्गी बनाउनु पनि हुन्छ । पाँच दिन लगाएर खिर्राको काठबाट बनाइएको एउटा सारङ्गी रु २३ हजारमा बिक्री गर्छन । तर, नयाँ पुस्तामा पेसाप्रतिको घट्दो आकर्षणले सीप भए पनि मारेर बास्नुपरेको उनको दुखेसो छ ।


सरकारले चासो नदिँदा नयाँ पुस्तामा आकर्षण नभएको सोही ठाउँका ६५ वर्षीय भद्र बहादुर गन्धर्वको गुनासो छ । “बलेवामा मात्रै २७ घर गन्धर्वका थिए, अहिले घटेर १७ भएका छन्”, भद्र बहादुरले भने, “हामी बाचुन्जेल पेट पाल्नुपर्ने बाध्यताले पेशा छोड्न नसकिने भयो, छोरा नातिले त बरु गिट्टी कुट्छन् यो पेसामा रुचि देखाएनन् ।”


उनले गन्धर्वको जीवन नै सारङ्गी भएको बताउँदै अरू केही गरौँला खाउँला भनेर सोच नबनाए पनि अहिले आएर बाध्यता भएको भद्र बहादुरको भनाइ छ । गन्धर्वलाई स्थानीयले नेता, जनप्रतिनिधिले समेत चासो नदेखाएको उनको गुनासो छ । भद्र बहादुरले पछिल्लो समय सारङ्गी रेट्न छोडिसके पनि तर विष्णुलाई भने साथ दिँदै आएका छन  ।


बागलुङ नगरपालिका–१२ अमला चौरका वडाध्यक्ष कोपिलामणि शर्माले अहिलेसम्म गन्धर्व समुदाय लक्षित कार्यक्रम र योजना नभएको भए पनि आगामी दिनमा योजना र कार्यक्रम ल्याइने बताए। रासस