काठमाडौंः मंगलबार बेलुकी आयोजना भएको ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोह’मा चलचित्र विकास बोर्डले उत्कृष्ट फिल्मको नाम नै घोषणा गरेन । यो विधामा फिल्म ‘प्रकाश’को नाम जुरीले सिफारिश गरेको वुझिएको छ । तर, सरकारको निर्देशनमै चलचित्र विकास बोर्डले ‘उत्कृष्ट फिल्म’बाट ‘प्रकाश’को नाम काटेर कुनै पनि फिल्मलाई अवार्ड नदिएको चर्चा भैरहेको छ । 

तर, यो फिल्मका नायक प्रदीप खड्काले भने घुमाउरो तरिकाले सरकारले नभई व्यक्तिगत रिसिबी साध्न मन्त्रालय र सरकारको नाम प्रयोग भएको भन्दै बोर्ड अध्यक्ष भुवन केसीमाथि आरोप लगाएका छन् । 

संचार, सूचना तथा प्रविधि मन्त्री रेखा शर्मालाई भेटेपछि यो कुरा स्पष्ट भएको भन्दै प्रदीपले लेखेका छन्–‘समग्रमा वुझ्दा सरकार र पार्टीको बहानामा व्यक्तिगत रिसिबी साध्न सम्मानित मन्त्रालय साथै पुरा सरकारको नाम प्रयोग भएको वुझियो । मलाई अवार्ड नदिदा औचित्यमा नै प्रश्न आओस्, त्यस्तो काम गर्न सकौं भन्ने मान्यतामा हिडेको व्यक्तिगत म, मिडिया, फिल्मीकर्मी, शुभचिन्तकप्रति यो शुभेक्षा, हौसलाप्रति यसरी नै मिहिनेत साथ फिल्म क्षेत्रमा अगाडि कदम चाल्ने मनसाय बनाइयो ।’

उनले ‘राष्ट्रिय अवार्ड’मा फिल्मीकर्मीले भोगेको अन्यायमा न्याय पाउन सूचनाको हको प्रयोग गर्दै उत्कृष्ट फिल्म किन घोषणा भएन भनेर प्रश्न गर्ने र आवश्यक परे कानुनी प्रक्रियामा जान सक्ने पनि उल्लेख गरेका छन् । उनले, न्याय हराएको देशमा अन्याय सहनु पनि गलत हुने भन्दै न्यायलयको ढोका ढक्ढकाउने पनि चेतावनी दिएका छन् । -मेरो फिल्मबाट