इटहरीः कलाकार तथा जादूगर सानु ताम्राकारका एकमात्रै सन्तान थिए, सारुक ताम्राकार । उनी अभावमा हुर्किएनन् । फिल्मसम्मको यात्रा तय गर्न पनि उनले ठूलो संघर्ष गर्नुपरेन । करिअर सुखद नै थियो । तर, गत असार २१ गते उनले आफ्नो जीवनलाई नै पूर्णविराम लगाए । सानु दाम्पतीको बुढेसकालको लौरो भाँचियो । सन्तान गुमाउनुभन्दा ठूलो पीडा माता-पिताका लागि अरु के हुन सक्ला र ?

छोरा सारुकको निधनपछि सानु अस्वस्थ बने । गत साउन १३ गते उनी थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भए, आइसीयूमा । उनी कसैसँग बोल्न सक्ने अवस्थामा थिएनन् । लामो समयदेखि ढाड दुख्ने समस्याबाट पीडित रहेका उनमा मृगौलाको पनि समस्या देखिएको थियो । एकातिर सन्तान गुमाउनुको पीडा अनि अर्कोतिर रोगले गलाउँदा उनले शनिबार नर्भिकमा नै अन्तिम सास लिए ।


सानुलाई फिल्मकर्मीहरु सालिन र भद्र स्वभावको व्यक्तित्वको रुपमा चिन्दछन् । अभिनयमा झण्डै ४ दशक विताएका उनले दर्जनौं फिल्म र सिरियलमा अभिनय गरेका छन् । त्यसमध्ये एउटा फिल्म उनको जीवनकालकै सबैभन्दा महत्त्वपूर्ण मानिन्छ । त्यो हो- यम थापाद्वारा निर्देशित ‘मेरी मामु’ । किनकि, यसमा उनले छोरा सारुकसँग एकसाथ काम गरेका थिए । यो सौभाग्य कमैलाई मिल्छ ।

फिल्ममा सानु सहायक र सारुक मुख्य भूमिकामा थिए । फिल्ममा सानुले अभिनेत्री अश्लेषा ठकुरीको हजुरबुबाको भूमिका निर्वाह गरेका छन् । अश्लेषालाई सारुकले मन पराएका हुन्छन् । सानु फिल्मको दुई सिनमा मात्रै छन् । र, दुवै सिन छोरासँगै छ । एउटा सिन उनीहरुको भिडियो कलमा र अर्को गाडीमा छ । गाडीको सिनपछि भने रियल बुबा-छोराको भेट भएको दृश्य फिल्ममा छैन ।

सानुले छोरासँग एकसाथ काम गरेको पहिलो फिल्म नै ‘मेरी मामु’ थियो । अन्तिम पनि यही बन्न पुगेको छ । गत बिहीबार सारुकले अभिनय गरेको अन्तिम फिल्म ‘ह्यासट्याग माया’को दृश्य समेटेर तयार पारिएको म्यूजिक भिडियो सार्वजनिक कार्यक्रममा उनकी आमाले श्रीमानको स्वास्थ्य लाभको कामना गरिदिन रुँदै आग्रह गरेकी थिइन् । तर, उनै श्रीमतीलाई छोडेर सानु विदा भएका छन् ।