धरानः एक नम्बर प्रदेशको सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिता ‘नेपाल आइस मिस पूर्वाञ्चल’को नवौं संस्करणको फाइनल प्रतिष्पर्धा आज शनिबार हुँदै छ ।
धरान–१५ स्थित इजि राइडर होटलमा हुने फाइनलको सम्पूर्ण तयारी पूरा भएको आयोजक सिल्भर इन्टरटेन्मेन्टले जनाएको छ । मिस पूर्वाञ्चलको प्रि–फाइनल जजिङ राउन्ड बिहीबार धरान–११ स्थित मायावी लाउञ्जमा भएको थियो ।
यसपटक मिस पूर्वाञ्चलमा ‘मिस इटहरी २०१७’ विजेता तपस्या रनपहेली, ‘मिस उर्लाबारी २०१७’ रुसाली केसी पनि प्रतिष्पर्धामा छन् । त्यस्तै, धनकुटाकी अनिला क्षेत्री, हिलेकी प्रजिता तामाङ, उर्लाबारीकी सबिना पोद्दार, तरहराकी तुलसा पोख्रेल, भद्रपुरकी सलिना राजवंशी र पूजा श्रेष्ठ पनि प्रतिष्पर्धामा उत्रिएका छन् ।
सङ्खुवासभाकी सोनेता दाहाल, धरानका आकृति आचार्य, इचिना राई र सुचित्रा कार्की, विराटनगरकी मोनिका रेग्मी र धनकुटाकी सष्टिका बिशुंखे प्रतिष्पर्धामा छन् ।
उनीहरूलाई कोरियोग्राफर प्रियारानी लामाले कोरियोग्राफीसम्बन्धी तथा विभिन्न क्षेत्रका विज्ञहरूले अन्य विषयमा प्रशिक्षण दिएका थिए । उनीहरूलाई भेडेटार, नाम्जे, पाथीभराको पर्यटनका विषयमा जानकारी दिनुका साथै विभिन्न सामाजिक सेवामा समेत सहभागी गराइएको थियो भने ट्राफिक सचेतना कार्यक्रममा समेत सहभागी गराइएको आयोजकले जनाएको छ ।
मिस पूर्वाञ्चलको फाइनलमा मिस वल्र्ड २०१८ की नेपाली प्रतिष्पर्धी शृङ्खला खतिवडासहित विभिन्न क्षेत्रका चर्चित व्यक्तिको उपस्थिति रहने आयोजकले जनाएको छ ।