इटहरीः सुनसरी प्रहरीले भारतीय समूहको अपहरण परेका एक बालकलाई सकुशल उद्धार गरेको छ । 

चर दिनअघि सुनसरीको दुहबी नगरपालिका–१२ बुगडरीमा गाई फार्म खोली बसेका बिन्देश्वर यादवको ११ वर्षे छोरा अपहरणमा परेका थिए । अपहरणमा परेका बालकलाई प्रहरीले भारत जिल्ला समस्तिपुर एकडेरा एरियाबाट सकुशल उद्धार गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरिक्षक राजकुमार राईले जानकारी दिए । 

अपहरणमा परेका बालकलाई इलाका प्रहरी कार्यालय दुहवी, जिल्ला प्रहरी कार्यालय सुनसरी र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको संयुक्त गस्ती टोलीले उद्धार गरेको हो ।

अपहरणमा संलग्न व्यक्तिहरूको खोजी भइरहेको सुनसरी प्रहरी प्रमुख प्रहरी उपरिक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए । ढकालका अनुसार अपहरणमा संलग्न व्यक्तिको पहिचान भइसकेको छ । भारतीय बीआर ०९ आर ०७९६ नम्बरको स्कारपिओ गाडीमा आएका पाँच जनाको समूहले ती बालकलाई ललाई–फकाई नास्ता खान जाऊ भनी अपहरण गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । 

बालक अपहरण गरेको भोलिपल्ट बाबु बिन्देश्वरको मोबाइलमा वाट्सअपमार्फत भारतीय नम्बरबाट फोन गरी २५ लाख भारतीय रुपैयाँ फिरौती माग गरिएको थियो ।