इटहरीः इटहरीमा शुक्रबार राती डिआईजीको सालो हुँ भन्दै प्रहरीमाथि तथानाम गालीगलौच भएको छ । कोशी प्रदेशका डिआईजी राजेशनाथ बास्तोलाको सालो हुँ भन्दै ७ जनाको युवा समूहले इटहरीका डिएसपीमाथि सहनै नसक्ने गाली गलौच गरेका हुन् । 

इटहरीको के क्लबभित्र मदिराले लट्ठ विराटनगरबाट आएका युवाहरूले विवाद गर्नुको साथै बाउन्सरमाथि हातपात गरेका थिए । क्लबको लाईट समेत तोडफोड गरेर उनिहरु इटहरीको मुख्य चौकमा निस्किएपछि प्रहरीसँग विवाद भएको थियो । 

एक युवती समेत रहेको उक्त समूहले प्रहरीलाई बाउन्सरलाई पक्राउ गर्न भनेका थिए । त्यस क्रममा ‘हामी कोशी प्रदेशका डिआइजी राजेशनाथ बास्तोलाको सालो हो’ भन्दै प्रहरीसँग विवाद गर्नुको साथै प्रहरीमाथि अपशब्दसहितको गाली गरेका थिए । 

प्रहरीलाई गाली गरेपछि उनिहरुलाई नियन्त्रणमा लिएर प्रहरी कार्यालय ल्याउने तयारी गदै गर्दा इटहरीका डिएसपी माधव काफ्ले राती ११.२० मा विवाद भएको ठाउँ पुगेका थिए ।

विवाद गर्ने मध्ये आफुलाई डिआइजीको सालो भन्ने युवकले इटहरी प्रहरीले आफुले भनेको नमानेको भन्दै डिआइजीलाई कल गरेका थिए । 

अत्याधिक मदिरा सेवन गरेका सबैलाई सम्झाई बुझाई घर पठाउन डिएसपी काफ्लेले खोजेका थिए । एक प्रत्यक्षदर्शी भन्छन् ‘तर उक्त समूह डिएसपी काफ्ले विरुद्ध खनिँदै तथानाम गाली गर्न थाले ।’ ‘हामी मन्त्री र डिआइजीका मान्छे हौ, बाउन्सरलाई पक्राउ गरिनस् भने जागिर खाइदिन्छु । फुली थुतिदिन्छु नभए सरुवा गरिदिन्छु ।’  भन्दै काफ्लेसँग ति युवकको भनाभन भएको थियो ।  

‘बर्दीमा रहेका सबै प्रहरीलाई उनीहरूले तथानाम गाली गर्दा समेत डिएसपी काफ्ले उनिहरुको सामु निरीह देखिए’ अर्का एक प्रत्यक्षदर्शी अटो चालकले भने ‘उनीहरूको ठाउँमा अरू कोही थियो भने केही मिनेट भित्रै सबै पक्राउ पर्थे ।’ सायद मन्त्री र डिआइजीले फोन गरे होला डिएसपीसाँव उनीहरूको सबै गाली सहेर बस्नु भयो ।

341698631_6106077592804854_8466888117213544421_n

इटहरीको मुख्य चौकमा रातमा समयमा विवाद हुँदा त्यहाँ स्थानीयहरूको भिड जम्मा भएको थियो । स्थानीयहरूले प्रहरीमाथि दुर्व्यवहार गर्ने भन्दै प्रहरीको पक्षमा बोल्दा समेत घटनास्थल पुगेको प्रहरी मौन रह्यो । अर्का प्रत्यक्षदर्शीका अनुसार प्रहरीले उनीहरूलाई घर जान आग्रह गर्दा समेत प्रहरीसँग निहुँ खोजेर बसेका थिए ।

‘क्लब अगाडीको विवाद सेन्ट्रल प्लाजा हुँदै इलाका प्रहरी कार्यालय इटहरी पुग्दा झन्डै २ बजेको थियो’ ती प्रत्यक्षदर्शी भन्छन् ‘प्रहरी कार्यालय पुगेपछि प्रत्यक्षदर्शीहरुले उनीहरूको रवैया देखेर भिडियो समेत बनाएका छन् । ’ 

विवादकै क्रममा सञ्चारकर्मी विकल पौडेल प्रहरी कार्यालय पुगेर भिडियो खिच्ने क्रममा डिआइजीको सालो दाबी गर्ने युवकले उनको मोबाइल खोसेका थिए ।

‘मन्त्री र डिआइजीको आफन्त भनेपछि प्रहरीले पनि केही नगरेको जस्तो महसुस भयो ’ सञ्चारकर्मी पौडेल भन्छन् ‘प्रहरी कार्यालय भित्र पनि तथानाम बोली रहेका थिए ।’ कसले के गर्न सक्दो रहेछ ? भनेर खुल्लमखुल्ला चुनौती दिइरहेका थिए ।’ 

प्रहरी सङ्गठन र डिएसपीसाँवमाथि दुर्व्यवहार गर्दा समेत अन्ततः उनीहरूलाई २.३० बजे छाडिएको उनले बताए । रातीको घटनामा प्रहरी वास्तवमै निरीह किन भएको हो ? भनेर उनि आफै आश्चर्यमा छन् ।

प्रहरी स्रोतका अनुसार मुख्य विवाद गर्ने युवा डिआइजी राजेशनाथ बास्तोलाको आफन्त भएको बताएका छन् । साथै विवाद गर्नेमा डाक्टरहरू समेत थिए । एक डाक्टरले भने आफू प्रदेशको एक मन्त्रीको भाई हो समेत भनेका थिए । 

इटहरी प्रहरीले भने उनीहरूको परिचय खुलाउन मानेको छैन । 

इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी माधव काफ्लेका अनुसार बाउन्सरले कुटपिट गरेको भनेर प्रहरीलाई खबर आएपछि आफू त्यहाँ पुगेको बताए । तर विवाद गर्नेहरूले आफू र प्रहरी कसैलाई गाली नगरेको दाबी गर्छन् । 

‘मदिराको कारण सामान्य विवाद भएको हो, हामीले सम्झाई बुझाई राती नै छाडिदियौ ’ काफ्लेले भने । घटनाको कारण के थियो भनेर हामी क्लबसँग बुझ्दै छौ डिएसपी काफ्लेले भनेका छन् ।

सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकालले पनि क्लबभित्रको विवाद भन्दा पनि भनाभन मात्र भएको बताउँछन् । विवाद गर्नेहरूले मन्त्री र डिआइजीको नाम लिएको विषयमा भने आफूलाई जानकारी नभएको बताए । 

राती विवाद गर्नेहरूलाई निगरानीमा राखेर सिसिटिभी फुटेज र क्लबसँग सोधपुछ गर्ने कार्य भइरहेको समेत ढकालले जानकारी दिए ।

यता कोशी प्रदेशका डिआईजी राजेशनाथ बास्तोलाले आफनो सालो पर्ने कुनै नातानै नरहेको दाबी गरे । तर उनले आफुलाई फोन आएको स्वीकार गदै घटना के भयो भनेर आफुले इटहरीको डिएसपीलाई कल गरेको बुझ्न लगाएको मात्र बताएका छन् । 

‘के भएको रहेछ भनेर मैले डिएसपीसँग बुझे, अवस्था सामान्य रहेछ बाँकी कसैले कसैलाई दुरव्यवहार गरेको छैन’ बास्तोलाले भने ।