सबिता नयाँजू/नेपाल न्यूज बैंक

काठमाडौंः कोशी प्रदेशमा सबैभन्दा धेरै अपराध मोरङमा हुने गरेको देखिएको छ । भने, सबैभन्दा कम तेह्रथुममा हुने गरेको छ । 

गएको ४४ महिनाको तथ्यांक विश्लेषण गर्दा मोरङमा मात्रै ६ हजार ८ सय ५३ अपराधका घटना भएका छन् । कोशी प्रदेशमा भएको कुल अपराध संख्याको यो २४.३३ प्रतिशत हो । कोशी प्रदेश प्रहरी कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार कोशी प्रदेशभर गएको ४४ महिनामा २८ हजार १ सय ६० अपराधका घटना भएका थिए । 

त्यसपछि सबैभन्दा धेरै अपराध हुने जिल्ला सुनसरी रहेको छ । ४४ महिनाको अवधिमा सुनसरीमा मात्रै ६ हजार ४ सय ३ अपराधका घटना भएका छन् । यो कोशी प्रदेशमा भएको कुल अपराध संख्याको २२.७३ प्रतिशत हो । त्यस्तै, झापा जिल्ला त्यसपछि सबैभन्दा धेरै अपराध हुने जिल्ला हो । तथ्यांक अनुसार सोही अवधिमा झापा जिल्लाभर ५ हजार ४ सय १७ अपराधका घटना भएका छन् । यो कुल अपराध संख्याको १९.२३ प्रतिशत हो । 

कोशी प्रदेशमा उदयपुर पनि धेरै अपराध हुने मध्येको जिल्ला हो । उदयपुरमा ४४ महिनाको अवधिमा २ जहार २८ अपराधका घटना भए । कोशी प्रदेशभित्र भएको कुल अपराधको यो ७.२० प्रतिशत हो । त्यस्तै, इलाम त्यसपछि सबैभन्दा धेरै अपराध हुने जिल्ला हो । उक्त अवधिमा इलाममा १ हजार ४ सय ४२ अपराधका घटना भएका छन् । यो कुल अपराध संख्याको ५.१२ प्रतिशत हो । 

कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता ऋषिराम कंडेलले कोशी प्रदेशभर सबैभन्दा धेरै अपराध हुने जिल्ला मोरङ र कम अपराध हुने जिल्ला तेह्रथुम रहेको बताए । आकार र जनसंख्याको आधारमा ठूलो मात्र नभई  आर्थिक गतिविधि समेत धेरै हुने भएको हुँदा मोरङमा अपराध धेरै हुने गरेको उनको भनाई छ । 

उनले भने,‘तथ्यांक हेर्दा कोशि प्रदेशमा सबैभन्दा धेरै मोरङमा अपराध हुने गरेको देखिन्छ ।  प्रादेशिक राजधानी मोरङ हो । जनसंख्या अन्य जिल्लाको भन्दा धेरै छ । आकारका आधारमा पनि मोरङ ठुलै जिल्लाभित्र पर्छ । त्यसो हुँदा अपराधका घटना मोरङमा धेरै दर्ता हुनु स्वभाविक हो । अर्काे आर्थिक गतिविधि यहाँ धेरै नै हुने गर्छन् । अपराधका घटना धेरै हुनुको अर्को कारण यो पनि हो । खुल्ला सिमानाका र ठूला राजमार्ग पनि अपराध जन्माउने कारण हुन् ।’

तेह्रथुम र धनकुटामा कम अपराध 

तथ्यांक विश्लेषण गर्दा कोशी प्रदेशमा सबैभन्दा कम अपराध हुने जिल्ला तेह्रथुम रहेको छ । ४४ महिनामा तेह्रथममा मात्रै ४ सय ६० अपराधका घटना भएका छन् । यो कोशी प्रदेशमा भएको कुल अपराध संख्याको १.६३ प्रतिशत हो । त्यस्तै, सबैभन्दा कम अपराध हुने जिल्ला त्यसपछि धनकुटा रहेको छ । उक्त अवधिभर धनुकुटामा ५ सय २४ अपराधका घटना भए । यो कुल अपराध संख्याको १.८६ प्रतिशत हो । 

Graphics (1)

ताप्लेजुङ र ओखलढंगा पनि कम अपराध हुने गरेको देखिएको छ । तथ्यांक अनुसार  ४४ महिनाको अवधिमा ताप्लेजुङमा ६ सय ६ र ओखलढुंगा ६ सय १८ अपराधका घटना भएका छन् । कोशी प्रदेशमा भएको कुल अपराध संख्याको यो २.१५ प्रतिशत र २.१९ प्रतिशत हो । त्यस्तै, भोजपुर पनि कोशी प्रदेशमा कम अपराध हुने जिल्लाभित्रै पर्छ । उक्त अवधिमा भोजपुरमा ६ सय १८ अपराधका घटना भए । यो कुल अपराध संख्याको २.१९ प्रतिशत हो । 

त्यस्तै, तथ्यांक विश्लेषण गर्दा कोशी प्रदेशको पाँचथर, खोटाङ, संखुवासभा र सोलुखुम्बु अपराधिक घटना दर्ताका दृष्टिकोणले मध्यम जिल्ला रहेको देखिएको छ । गएको ४४ महिनामा पाँचथरमा ८ सय ५५, खोटाङमा ८ सय ५, संखुवासभामा ७ सय ८७ र सोलुखुम्बुमा ७ सय ४४ अपराधका घटना दर्ता भएका छन् । कोशी प्रदेशमा भएको कुल अपराध संख्याको यो क्रमशः ३.०३ प्रतशित, २.८५ प्रतिशत, २.७९ प्रतिशत र २.६४ प्रतिशत हो । 

जनसंख्या थोरै र आर्थिक गतिविधि पनि समिति हुने भएको हुँदा तेह्रथुममा तुलनात्मक रुपमा कम अपराध हुने गरेको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी काडँेलको भनाई छ । उनले भने,‘ तेह्रथुम आकार र  जनसंख्याको आधारमा सानो जिल्ला छ । आर्थिक गतिविधि पनि तेह्रथुममा कम नै छ । त्यसो हुँदा अपराधका घटना कम भएको जस्तो देखिन्छ ।’

४४ महिनाका अपराध बहिखाता 

जिल्ला जम्मा

मोरङ ६,८५३

सुनसरी ६,४०३

झापा ५,४१७

उदयपुर २,०२८

इलाम १,४४२

पाँचथर ८५५

खोटाङ ८०५

संखुवासभा ७८७

सोलुखुम्बु ७४४

भोजपुर ६१८

ओखलढुंगा ६१८

ताप्लेजुङ ६०६

धनकुटा ५२४

तेह्राथुम ४६०

जम्मा २८,१६०

४४ महिनामा मोरङमा मात्रै ६ हजार पक्राउ

कोशी प्रदेशका १४ मध्ये सबैभन्दा धेरै अभियुक्त पक्राउ पर्ने जिल्ला पनि मोरङ नै रहेको छ । गएको ४४ महिनाको तथ्यांक विश्लेषण गर्दा मोरङमा मात्रै ६ हजार ३ सय ६०  अभियुक्त पक्राउ परेका छन् । यो पक्राउ परेका कुल अभियुक्त संख्याको  २७.९३ प्रतिशत हो । कोशी प्रदेश प्रहरी कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार कोशी प्रदेशभर गएको ४४ महिनामा २२ हजार ७ सय ६४ जना अभियुक्त पक्राउ परेका छन् ।  

त्यस्तै, सुनसरीमा सोही अवधिमा ५ हजार ६ सय १४ अभियुक्त प्रक्राउ परेका छन् । कुल पक्राउ संख्याको यो २४.६६ प्रतिशत हो । त्यसपछि सबैभन्दा धेरै अभियुक्त झापामा पक्राउ परेका छन् । ४४ महिनामा झापामा मात्रै  ४ हजार १ सय ६९ अभियुक्र पक्राउ परेका छन् । यो कुल पक्राउ अभियुक्तको १८.३१ प्रतिशत हो । त्यस्तै, उदयपुरमा १ हजार ८ सय ४९ जना पक्राउ परेका छन् । यो कुल पक्राउ अभियुक्त संख्याको ८.१२ प्रतिशत हो । इलाममा ८ सय ७३ अभियुक्त पक्राउ परेका छन् । यो कुल अभियुक्त संख्याको ३.८३ प्रतिशत हो । 

Graphics (3)

उक्त अवधिमा संखुवासभामा ५ सय ७२ अभियुक्त पक्राउ परेका छन् । यो कुल संख्याको २.५१ प्रतिशत हो । त्यस्तै, खोटाङ्मा ५ सय ३९(२.३६ प्रतिशत), पाँचथरमा ५ सय २५(२.३० प्रतिशत), तप्लेजुङमा ४ सय ७७(२।०९ प्रतिशत), सोलुखुम्वूमा ४ सय ४०(१.१९ प्रतिशत) अभियुक्त पक्राउ परेका छन् । सोही अवधिमा भोजपुरमा पक्राउ अभियुक्त ३ सय ८४(१.६८ प्रतिशत), धनकुटामा ३ सय ५२(१.५४ प्रतिशत), ओखलढुङ्गामा ३ सय १६(१.३८ प्रतिशत) र तेह्रथुममा २ सय ९४(१.२९ प्रतिशत) रहेको छ । 

४४ महिनाका पक्राउ अभियुक्त  

जिल्ला जम्मा

मोरङ ६,३६०

सुनसरी ५,६१४

झापा ४,१६९

उदयपुर १,८४९

इलाम ८७३

पाँचथर ५२५

खोटाङ ५३९

संखुवासभा ५७२

सोलुखुम्बु ४४०

भोजपुर ३८४

ओखलढुंगा ३१६

ताप्लेजुङ ४७७

धनकुटा ३५२

तेह्राथुम २९४

जम्मा २२,७६४

सुनसरीमा २ हजार अभियुक्त फरार 

कोशी प्रदेशको १४ जिल्लामा सबैभन्दा धेरै अभियुक्त सुनसरीबाट फरार भएका छन् । गएको ४४ महिनामा सुनसरीबाट मात्रै २ हजार ५७ जना अभियुक्त फरार भएका छन् । यो कुल फरार संख्याको ३९.५९ प्रतिशत रहेको छ । कोशी प्रदेश प्रहरी कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार कोशी प्रदेशभर गएको ४४ महिनामा ५ हजार १ सय ९५ जना अभियुक्त फरार रहेका छन् ।  

सोही अवधिमा झापाबाट १ हजार ७३ अभियुक्त फरार भएका छन् । यो कुल फरार अभियुक्तको २०. ६५ प्रतिशत हो । मोरङबाट सोही अवधिमा १ हजार ५ अभियुक्तहरु फरार भएको छन् । यो फरार हुने कुल अभियुक्त संख्याको १९.३४ प्रतिशत हो । 

यसैगरि उदायपुरबाट फरार हुने अभियुक्त संख्या ३ सय २० रहेका  छन् भने इलामबाट १ सय ६९ जना अभियुक्त पक्राउ रहेका छन् । त्यसैगरी पाँचथरबाट १ सय ३८, संखुवासभाबाट ९७, ताप्लेजुङबाट ५९, सोलुखुम्बुबाट ५१, खोटाङबाट ५० भोजपुरबाट ४९ अभियुक्त फरार छन् । त्यस्तै तेह्रथुमबाट फरार हुने अभियुक्त संख्या ४९, ओखलढुङ्गाबाट ३९ र धनकुटाबाट ३८ रहेका छन् । 

४४ महिनामा कोशी प्रदेशका १४ जिल्लामा फरार अभियुक्त  

जिल्ला जम्मा

सुनसरी २,०५७

झापा १,०७३

मोरङ १,००५

उदयपुर ३२३

इलाम १६९

पाँचथर १३८

खोटाङ ५०

संखुवासभा ९७

सोलुखुम्बु ५१

भोजपुर ४९

ओखलढुंगा ३९

ताप्लेजुङ ५९

धनकुटा ३८

तेह्राथुम ४७

जम्मा ५,१९५

सोलुमा अपराधको घट्दो ग्राफ 

प्रदेशका अन्य जिल्लामा अपराधका घटना बढिरहेका बेला सोलुखुम्बुमा भने घटिरहेको देखिएको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले उपलब्ध गराएको तथ्यांक अनुसार आव ०७७–७८ मा सोलुमा अपराधका २ सय ८८ घटना भएका थिए । आव ०७८–७९ मा यो संख्या घटेर १ सय ९८ मा आइपुग्यो । यो आव ०७७–७८ को तुलनामा ३१.२५ प्रतिशतले कम हो । चालू आवको ८ महिनामा सोलुमा १ सय ७ वटा मात्रै अपराधका घटना भएका छन् । तथ्यांक हेर्दा यस वर्ष पनि सोलुमा अपराध घटना घट्ने देखिन्छ ।