इटहरीः नेकपा एकीकृत समाजवादीका सचिव राजेन्द्र कुमार राईले कोशी प्रदेश सरकार चाँडै अल्पमतमा पर्ने बताएका छन् ।
प्रदेशमा जेठको पहिलो हप्ता भित्रमा नयाँ सरकार बनि सक्ने संकेत दिँदै पूर्व मुख्यमन्त्री राईले संघीय गठबन्धन अनुसार प्रदेशमा सरकार निर्माणको पहल भइरहेको बताए । नेकपा (एकीकृत समाजवादी)का सचिवसमेत रहेका राजेन्द्र कुमार राईले सरकारमा सहभागि दलले एक हप्ताभित्र राजीनामा दिने तयारी भइरहेको बताए ।
नेकपा एस मोरङको पार्टी कार्यालयमा विराटनगरमा संचारकर्मीहरूसँग कुराकानी गर्दै नेता राईले सत्ता गठबन्धनका शीर्ष नेताहरूसँग छलफल भइसकेकोले चाँडै निकास दिने आश्वासन दिएको उनले बताए ।
मुख्यमन्त्री को बन्ने विषय समेत केन्द्रले नै टुङ्ग्याउने उनले बताए । ‘सत्ता गठबन्धनका प्रदेशका संसदीय दलका नेताहरूले नेतृत्वलाई भेटेर केन्द्रको निर्णय मान्न तयार छौँ,’ उनले भने, ‘तपाईंहरू चाँडै निर्णय गरी दिनुहोस् भनेर भनेका छौं । संघमा जस्तै प्रदेशमा पनि आलोपालोको सम्भावना हुन सक्छ ।’
राप्रपालाई पनि नयाँ सत्ता समीकरणमा ल्याउन पहल भइरहेको समेत उनले खुलाए ।
‘केन्द्रको गठबन्धनमा राप्रपा नभए पनि प्रदेशमा ऊसँगको छलफल सकारात्मक नै छ । राप्रपा आउँदैन कि भन्ने अनुमानभन्दा प्रदेशमा फरक छ । राप्रपा नआउँदा पनि सरकार बनाउन बहुमत पुग्ने संख्या हामीसँग छ’, राईले सञ्चारकर्मीसंग भने ।
९२ सदस्यीय कोशी प्रदेशमा केन्द्रीय सत्ता गठबन्धनअनुसार कांग्रेस २९, माओवादी (सभामुखसहित) १३, नेकपा एकीकृत समाजवादी ४ र जसपाका १ सांसद छन् ।