इटहरीः पुर्व राजा ज्ञानेन्द्र शाहलाई चैत्र २० गते सोमबार नागरिक अभिनन्दन गरिने भएको छ । नागरिक अभिनन्दन मुल आयोजक समितिले शनिवार इटहरीमा पत्रकार सम्मेनलको आयोजना गर्दै कार्यक्रमको बारेमा जानकारी गराएको हो ।
नेपालका लागि नेपाली, राष्ट्रिय सरोकार मञ्च, जय राष्ट्रवादी दल, गुरु गणेश अभियान लगायतका दल तथा संस्थाको सयुक्त सहभागितामा नागरिक अभिनन्दन गर्न लागिएको मुल आयोजक समितिका संयोजक केशव बहादुर बिष्टले जानकारी दिए । मुल आयोजक समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा राप्रपा सुनसरीका अध्यक्ष दुर्गा बहादुर बस्नेत, राप्रपा मोरङ्गका पुर्व अध्यक्ष यादव आचार्य , पुर्व मन्त्री रामकुमार सुव्वा,राप्रपा नेता केदार कोइराला तथा विराटनगर उपमहानगरका पुर्व मेयर प्रह्लाद साह समेतको उपस्थिती रहेको थियो ।
राजसंस्था तथा हिन्दु राष्ट्रको वकालत गरिरहेका दल तथा संघ संगठनहरुले सयुक्त रुपमा नागरिक अभिनन्दनको आयोजना गरेको र बताइएको छ । पत्रकार सम्मेलनमा बोल्दै पुर्व मन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राम कुमार सुव्वाले पुर्व राजालाई नागरिकको तर्फबाट गर्ने भनिएको अभिनन्दन कार्यक्रम नहुने भन्ने बिभिन्न हल्ला समेत बजारमा फैलाइएकोले त्यस्तो हल्लाको पछि नलाग्न अनुरोध गरेका छन् ।
अभिनन्दनको लागि १ हजार १ जनाको मुल आयोजक समिती बनाइएको र अभिनन्दन कार्यक्रमका लागि पुर्व राजा ज्ञानेन्द्र शाहको परिवार नै कार्यक्रममा उपस्थित रहने कार्यक्रम रहेको बताइएको छ । अभिनन्दन पछि ज्ञानेन्द्र शाहले सभालाई सम्बोधन गर्ने या नगर्ने भन्ने बिषयमा भने आयोजकले खुलाउन चाहेनन् ।
दिउँसा २ बजे गर्न लागिएको उक्त अभिनन्दन समारोहमा ५० हजार भन्दा बढि नागरिकको उपस्थिती रहने आयोजकको अनुमान छ । अभिनन्दमा राजसंस्था चाहाने बिभिन्न दल तथा व्यक्तिका साथै स्वतह स्फुर्त जनताको सहभागिता रहने दावी मुल आयोजक समितिले गरेका छन् । आयोजक समितिले नाम खुलाउन नचाहेपनि नेपली कांग्रेसका ठुलै नेताको समेत उपस्थिती रहेको दावी गरेका छन् ।