इटहरीः प्रदेश नम्बर १ को पुनः नामाङ्ककरणको माग गरिरहेका पहिचानबादीको आन्दोनप्रति नेकपा माओवादी केन्द्रले समेत ऐक्यवद्धता जाहेर गरेको छ ।
नेकपा माओवादी केन्द्र प्रदेश कमिटीले शनिवार एक विज्ञप्ती जारी गर्दै प्रदेशको नामांकरण बहुपहिचानको आधारमा हुनुपर्नेमा आफ्नो पार्टी एक्यवद्ध भएको बताइएको छ ।
माओवादी केन्द्र कोशी प्रदेश समितिले शनिबार एक विज्ञप्ति प्रकाशित गर्दै नामकरण सच्याउनका लागि भइरहेको पहिचान पक्षधरहरुको शान्तिपूर्ण आन्दोलनप्रति ऐक्यबद्धता जनाएको हो । ‘नामाङ्कन सच्याउन हाल पहिचान पक्षधर विभिन्न संघ, संस्थाहरुले चलाइरहेको शान्तिपूर्ण आन्दोलन प्रती हाम्रो पार्टीको समर्थन र ऐक्यवद्धता रहेको छ,’ पार्टी अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो) र सचिव गणेश उप्रेती (सुशील)ले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।
यस्तै माओवादी केन्द्रले पहिचान पक्षधरहरुको प्रतिकूल अंकगणित रहेको अवस्थामा प्रदेश सभाबाट पारित गरी प्रदेशको नामाकरण गरिएको सन्दर्भमा प्रदेश पार्टी र संसदीय दलले गम्भीरतापूर्वक छलफल र समीक्षा गरिरहेको बताउँदै विज्ञप्तीमा ‘शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, कर्मचारी प्रशासन आदिमा प्रदेशको स्वायत्तता कायम रहने संघीयता र सोही सार अनुसारको रूप अर्थात् बहुपहिचान नामका निम्ति संघर्ष गर्न हाम्रो पार्र्टी प्रतिबद्ध रहेको बताइएको छ ।
‘पहिचान पक्षधर संघ, संस्था पार्टी र समुदायहरुले पनि यस विषयमा गम्भीर समीक्षा गर्दै भावी आन्दोलनलाई सफल वनाउन साझा एजेन्डा र साझा विषयहरुमा सहकार्यसहित नयाँ सिमाङ्कन र नयाँ पहिचानलाई स्थापित गर्ने सम्भावनामा पनि वहस जरुरी रहेको स्पष्ट पार्न चाहन्छौं ।’ विज्ञप्तीमा भनिएको छ ।
माओवादी केन्द्रले आन्दोलनको क्रममा घाइते भइ मृत्यु भएका पदम लिम्बू (लाजेहाङ्ग) लाई राज्यले सहिद घोषणा गर्नुपर्ने माग गर्दै आन्दोलनको क्रममा घाइते भएका सबै आन्दोलनकारीको सरकारको तर्फबाट निःशुल्क उपचार हुनुपर्ने माग पनि गरेको छ ।