इटहरीः इटहरी १ आपँगाछीमा शुक्रबार दिँउसो एक युवकमाथि छुरा प्रहार गरिएको छ । 

 इटहरी १ स्थित पीपल चौकनजिकै मुख्य राजमार्गमा युवकमाथि छुरा प्रहार भएको इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ । 

शुक्रबार दिउँसो २ः३० बजेतिर इटहरी १४ गैसारका अन्दाजी ३० वर्षीय मोहमद अफ्तारमाथि छुरा प्रहार भएको हो । 

अफतारमाथि तीन जनाको समुहले छुरा प्रहार गरेपछि स्थानीयले उक्त समुहलाई पक्राउ गरेर प्रहरीलाई बुझाएका थिए । 

अफ्तारमाथि ‘राजमार्गमा उभिइरहेको बेला पछाडिबाट चिर्पट प्रहार गरिएको स्थानीयले बताएका छन् । चिर्पट प्रहार गरेपछि छुरा प्रहार गरेको र छुरा प्रहारमा संलग्नलाई गाउँलेले पक्राउ गरेर प्रहरीलाई बुझाएका थिए । 

छुरा प्रहारबाट घाइते भएका अफ्तारको इटहरीस्थित सामुदायिक अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।  

पैसाको लेनदेनका कारण छुरा प्रहार भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।