इटहरीः प्रदेश नामांकरणमा असन्तुष्ट पक्षले नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोमाथि ताप्लेजुङमा आक्रमणको प्रयास गरेको छ ।
पार्टीको कार्यक्रममा ताप्लेजुङ पुगेका नेता आङ्गबोमाथि प्रदेशको नाम कोशी राखेको भन्दै असन्तुष्ट समूहले मंगलबार आङ्बोमाथि आक्रमणको प्रयास गरेको हो ।
आङ्बो सवार गाडीमा आक्रमण हुँदा सामान्य क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डीएसपी राजन लिम्बूका अनुसार फुङलिङ बजार आउने क्रममा आङ्बो सवार गाडीमाथि आक्रमण भएको थियो ।
बजारभन्दा ७–८ किलोमिटर तल गाडीमाथि ढुङ्गा प्रहार भएको प्रहरीले जनाएको छ । आक्रमण गर्नेको पहिचान नभएकाले घटनाको अनुसन्धान भइहरेको प्रहरीले बताएको छ ।
प्रदेशको नाम कोशी राखेपछि पहिचानको आधारमा नाम राख्नुपर्ने माग गर्दै आएको समूह आन्दोलनमा छ । सोमबार एक समूहले ओखलढुंगामा मुख्यमन्त्री हिक्मतकुमार कार्की सवार गाडीमा आक्रमणको प्रयास गरेको थियो ।