इटहरीः  १३ औ संस्करणको कन्ट्रोल इटहरी गोल्डकपमा दोश्रो क्वाटरफाइनल खेलमा आज (आइतबार) ए डिभिजन क्लब चर्च ब्वाइज युनाइटेडले आयोजक टोली राष्ट्रिय जागृति क्लबको सामना गर्दैछ ।

प्रस्तावित क्षेत्रिय रंगशाला इटहरीमा जारी प्रतियोगितामा चर्च ब्वाइज सुखद सुरुवातको लक्ष्यका साथ रहेको छ । ए डिभिजनमा पाँचौ चरणमा सम्म आइपुग्दा ३ जित निकाल्दै तेश्रो स्थानमा रहेको टोलीका लागि लिगको तयारी खेल समेत हुनेछ इटहरी गोल्डकप ।

गत बर्ष ए डिभिजन लिगमा बढुवा भएको टोलीसंग नेपालमा नाम चलेको खेलाडीहरु छन् । गोलरक्षकमा रेम्बो कुमार चौधरी हुनेछन् । राष्ट्रिय टोलीका सदस्य एरिक बिष्ट हुनेछन् । आशिष चापागाई, प्रशान्त लक्सम, सनम राई, साइमन लिम्बु, सुभाष गुरुङ, विकु राई लगायतका खेलाडीहरु टिममा रहेका छन् ।

टिमको मुख्य हतियार अञ्जन विष्ट र कप्तान अनन्त तामाङ इटहरी गोल्डकपमा हुनेछैनन् । अञ्जन इन्जुरीका लागि करिब २ महिने रेष्टमा छन् । लिगमा प्रभावशाली प्रर्दशन गरेपनि चर्च ब्वाइजलाई घरेलु टोली विरुद्ध खेल सहज हुनेछैन् ।

विभिन्न ए डिभिजन लिगमा आवद्ध इटहरीका खेलाडीहरु मिश्रण गरेर आयोजकले टिम तयार गरेको छ । कब्बु राईको कप्तानीमा उत्रिने टोलीसंग मनाङ मस्र्याङदीबाट व्यवसायिक फुटबल खेल्ने प्रवेश दनुवार, विरगंज युनाइटेडबाट खेल्ने उमेश कार्की, मनिष भण्डारी, सातदोबाटोका उमेश राई, थ्रीस्टारका संजय श्रेष्ठ जस्ता पुर्वको फुटबलका अनुभवी खेलाडीहरु इटहरीसंग उपलब्ध हुनेछन् ।