प्रकाश बन्जारा  

इटहरीः धरानको बुढासुव्वा गोल्डकप फुटबलको विजेता बनेको क्यामरोनको एभिनियर फुटबल क्लब इटहरीमा शनिवारबाट सुरु भएको कन्ट्रोल इटहरी गोल्डकपको पहिलो खेलबाटै बाहिरिएको छ । 

शनिवार भएको पहिलो क्वाटर फाइनल खेलमा साविक विजेता मोरङ्गको सगरमाथा युथ क्लवसँग पेनाल्टि सट आउटमा हार खाएपछि एभिनियर पहिलो खेलबाटै घर फर्किने भएको हो ।

 निर्धारित ८० मिनेटको खेलमा दुवै टिमबाट गोल नभएपछि खेल पेनाल्टि सट आउटमा पुगेको थियो । पेनाल्टि सट आउटमा सगरमाथा युथ क्लवले गरेका ४ वटा प्रहार गोल बन्न सफल भएका थिए भने एभिनियरले ५ प्रहारमा तीन मात्रै गोल गर्न सफल भएको थियो । एभिनियर फुटवल क्लवको तर्फबाट जर्सी नम्बर ५ का खेलाडी जोइ र जर्सी नम्बर १५ का खेलाडी सावाले गरेको पेनाल्टि प्रहार असफल भएपछि एभिनियर घर फर्किन बाध्य भएको हो । 

सगरमाथाको तर्फबाट जर्सी नम्बर ६ का अभिषेक राई, जर्सी नम्बर ११ का राजीव लोप्चन , १३ का अभिषेक लिम्बु र १७ का एमसुकेले सफल प्रहार गरेका थिए ।

यससँगै गत वर्षको विजेता समेत रहेको सगरमाथा सेमफिाइनलमा प्रवेश गरेको छ । खेलको म्यान अफ दि म्याच सगरमाथाका मुस्के घोषित हुँदै नगद दस हजारसहित मेडल प्राप्त गरे ।

भारत र क्यामरोन सहित ८ टिम रहेको इटहरी गोल्डकपमा भोली आइतबारको खेल आयोजक राष्ट्रिय जागृती क्लब इटहरी र काठमाण्डौको चर्च ब्वाइज क्लव बिच हुने आयोजकले बताएको छ ।