काठमाडौँः उत्तरी छिमेकी मुलुक चीनमा चिया निर्यातको सम्भावना बढेको छ । चीनमा भएको प्रतिस्पर्धामा नेपाली चियाको गुणस्तर उत्कृष्ट देखिएपछि निर्यातको सम्भावना उच्च देखिएको हो । 

गत असोज ४–५ गते ९२०२२ सेप्टेम्बर २०–२१० चीनको फुचियान प्रान्तको फुआन सहरमा भएको ‘सेकेन्ड वल्र्ड ब्लाक टी क्वालिटी इभ्यालुसन कम्पिटिसन’मा नेपाली चिया उत्कृष्ट घोषणा गरिएको थियो । नेपाली चिया गुणस्तरमा उत्कृष्ट देखिएपछि चीनसँगै अन्तर्राष्ट्रिय बजारमा थप बजार विस्तार गर्ने सम्भावना बढेको सम्बद्ध निकाय र व्यवसायीको छ । 

चीनमा नेपाली चिया निर्यात गर्ने विषयमा छलफल भइरहेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जानकारी दिएको छ । बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईले नेपाली चिया निर्यात गर्ने विषयमा चिनियाँ पक्ष सकारात्मक भएको जानकारी दिए । “सरकार–सरकार (जीटुजी) र व्यवसायी–व्यवसायी (बीटुबी)मार्फत नेपाली चिया चिनियाँ बजारमा जाने प्रक्रियामा कूटनीतिक माध्यमबाट पहल भइरहेको छ । चीनमै भएको प्रतिस्पर्धामा नेपाली चिया उत्कृष्ट देखिएपछि यो सम्भावना झन् बढेको हो,” उनले भने । स्वदेशी चियाको गुणस्तर उत्कृष्ट भई अवार्ड जितेपछि अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन गर्न यसले थप सहयोग पु(याएको उनले बताए । 

चिनियाँ बजारमा चिया निर्यात गर्न दूतावास, चाइनिज टी मार्केट एसोसिएसन सकारात्मक भएको उनले जानकारी दिए । अन्तर्राष्ट्रिय बजारमा स्वदेशी चियाको माग बढ्दै गएकाले निर्यात प्रवद्र्धन लागिएको उनले जानकारी दिए । 

चीनमा भएको सो प्रतिस्पर्धामा उत्कृष्ट पुरस्कार प्राप्त गरेको इलामको तीनजुरे टी फार्मर कोअपरेटिभ सोसाइटी लिमिटेडका व्यवस्थापक पदमबहादुर तामाङले चिनियाँ उपभोक्ताले गोल्डेन ब्ल्याक टी मन पराएको जानकारी दिए । “गुणस्तरमा हामी उत्कृष्ट भयौँ, चिनियाँ व्यवसायी पनि नेपाली चिया आयात गर्न सकारात्मक देखिएका छन् । यसले गर्दा नेपाली चियाको बजार विस्तार गर्न सहज हुन्छ,” उनले भने । यो सहकारी संस्थाले अमेरिका, फ्रान्सलगायतका अन्य देशमा चिया निर्यात गर्दै आएको छ । 

चियाको आन्तरिक खपत न्यून रहेकाले आन्तरिक बजार प्रवद्र्धनमा जोड दिनुपर्ने तथा खुला बजार नीतिअनुरूप दीर्घकालीन समस्या समाधान गर्न चीन, रुस, अमेरिका, युरोपेली मुलुकका नेपाली कूटनीतिक नियोगमार्फत नेपाली चियाको ब्रान्ड प्रवद्र्धन गर्न सके वार्षिक १० अर्ब रुपियाँको निर्यात गर्न सकिने विज्ञले बताएका छन । 

करिब चार अर्ब रुपियाँको निर्यात 

भन्सार विभागको तथ्याङ्कअनुसार यस्तै चालू आर्थिक वर्षको सात महिनामा चिया निर्यात २९ दशमलव ९ प्रतिशतले बढेर दुई अर्ब ७१ करोड पाँच लाख ३७ हजार रुपियाँ बराबरको १२ हजार ५६४ मेट्रिक टन चिया निर्यात भएको छ । 

आव २०७८र७९ मा तीन अर्ब ४३ करोड ४३ लाख ५० हजार रुपियाँ बराबरको १२ हजार ४९४ मेट्रिक टन चिया निर्यात भएको थियो । यस्तै आव २०७७र७८ मा तीन अर्ब ७९ करोड ७१ लाख रुपियाँ बराबरको ११ हजार ९२० मेट्रिक टन चिया निर्यात भएको विभागको तथ्याङ्क छ । 

सत्र हजार हेक्टरमा चिया खेती

पूर्वी नेपालका झापा, इलाम, पाँचथर, धनकुटा, तेह्रथुम, भोजपुर, झापालगायतका जिल्लामा ठूलो क्षेत्रफलमा चिया खेती हुने गरेको छ । यस्तै भोजपुर, सङ्खुवासभा, मोरङ, उदयपुर, ओखलढुङ्गा, खोटाङ, सिन्धुपाल्चोक, नुवाकोट, ललितपुर, रामेछाप, दोलखा, सिन्धुली, काभ्रे, धादिङ, चितवन, कास्की, लमजुङ, म्याग्दी, गोरखा, पर्वतमा चिया खेती हुने गर्छ । सुरुमा पूर्वी नेपालमा भइरहेको चिया पछिल्लो समय अन्य जिल्लामा विस्तार हुँदै गएको छ । नेपालमा अर्थोडक्स र सीटीसी चिया उत्पादन हुने गर्छ । 

आव २०७७र७८ मा १६ हजार ९१७ हेक्टर क्षेत्रफलमा २३ हजार ७४५ मेट्रिक टन चिया उत्पादन भएको थियो । आव २०७६र७७ मा १६ हजार ९०५ हेक्टर क्षेत्रफलमा २४ हजार ११८ मेट्रिक टन चिया उत्पादन भएको थियो । यस क्षेत्रमा १६ हजारभन्दा बढी चिया कृषक र ६० हजारभन्दा बढी श्रमिक संलग्न छन् । आन्तरिक बजारसँगै अन्तर्राष्ट्रिय बजारमा खपत बढ्दै गएपछि व्यावसायिक रूपमा चिया खेती बढ्दै गएको छ । नेपाली चिया भारत, क्यानडा, भारत, जर्मनी, जापान, कतार, ताइवान, अस्टे«लिया, नेदरल्यान्ड, अमेरिकालगायतका देशमा निर्यात हुने गर्छ । 

सोह्रमध्ये दसवटा पुरस्कृत 

चीनको फुचियान प्रान्तको फुआन सहरमा भएको चिया प्रतिस्पर्धामा नेपालका १० चिया उत्पादक पुरस्कृत भएको बोर्डले बिहीबार सार्वजनिक गरेको छ । 

चीनको चिया मार्केटिङ सङ्घले आयोजना गरेको सो प्रतिस्पर्धामा चीन, भारत, केन्या, श्रीलङ्कालगायतका मुलुकलाई पछि पार्दै नेपालका १० वटा चिया उत्पादक संस्थाले अवार्ड प्राप्त गरेका हुन् । ग्रान्ड गोल्ड मेडल जित्ने एउटा, स्वर्ण पदक जित्ने पाँचवटा र रजत पदक जित्ने चारवटा चिया उत्पादक तथा ब्रान्ड छन् । बोर्डले बिहीबार कार्यक्रम आयोजना गरी उत्कृष्ट चिया उत्पादक कम्पनीलाई अवार्ड तथा सम्मान गरेको थियो । 

अवार्ड प्राप्त गर्ने चिया ग्रान्ड गोल्ड मेडल तीनजुरे टी फार्मर कोअपरेटिभ सोसाइटी लिमिटेडको ‘पर्ल गोल्डेन ब्ल्याक टी’ले प्राप्त गरेको छ । यस्तै स्वर्ण पदक प्राप्त गर्नेमा फार्मर टी प्रोसेसिङ इन्डस्ट्रिजको एफ–टी हिमालयन गोल्ड, हिमालयन साङ्ग्रिला टी प्रोड्युसरको साङ्ग्रिला गोल्ड, गोर्खा टी स्टेट प्रालिको जीटीई गोल्डेन टी, सिद्धदेवी टी स्टेट प्रालिको सिल्भर विग्स र कञ्चनजङ्घा अर्गानिक अर्थोडक्स चिया उद्योग प्रालिको गोल्डेन टिप्स टीले प्राप्त गरेका हुन् । 

यस्तै रजत पदक प्राप्त गर्नेमा हिमालय साङ्ग्रिला टी प्रोड्युसरको हिमालयन सनराइज ब्युटी, श्री वराह टी इन्डस्ट्रिज प्रालिको स्पेसल ब्ल्याक टी, तीनजुरे टी फार्मर कोअपरेटिभ सोसाइटी लिमिटेडको नर्मल गोल्डेन ब्ल्याक टी र माईपोखरी चिया प्रशोधन उद्योग नेपालको एमपी १० (मिर्मिरे) रहेका छन् । सो प्रतिस्पर्धामा बोर्डले नेपालका ४० वटा चियाका नमुना सङ्कलन गरी बोर्डमै भएको चियाको स्वाद एवं गुणस्तर परीक्षणका आधारमा १६ वटा चियाका नमुना प्रतिस्पर्धाका लागि चीनमा पठाएको थियो । यो खबर आजको गोरखापत्रमा प्रकाशित भएको छ ।