जनकपुरधामः विश्वका हिन्दुहरूको आस्थाको केन्द्रको रुपमा रहेको जानकी मन्दिर परिसरमा जानकी मन्दिरको कार्यक्रम बाहेक अन्य कार्यक्रम गर्नमा पूर्ण रुपमा निषेध गरिएको छ । 

धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दहालको अध्यक्षतामा बिहिबार अधिकृत सङ्गमको सभाकक्षमा भएको सर्वपक्षीय बैठकबाट जानकी मन्दिर परिसरमा जानकी मन्दिरको आयोजनामा हुने धार्मिक तथा सांस्कृतिक कार्यक्रम बाहेक अन्य कुने कार्यक्रम गर्नमा निषेध गरेको छ । 

हालै मात्र जनकपुर साहित्य महोत्सव जानकी मन्दिर परिसरमा सम्पन्न भएका थिए । अब जानकी मन्दिरमा त्यस्ता कार्यक्रम गर्नमा निषेध गरेको छ । जानकी मन्दिरमा कार्यक्रम गर्दा मन्दिर फोहर हुनुका साथै सुरक्षा चुनौती बढ्ने भएको भन्दै कुनै पनि कार्यक्रम गर्न नपाउने निर्णय सर्वपक्षीय बैठकले गरेको छ । 

तर जानकी मन्दिरले परम्परा देखि आयोजना गर्दै आएको विवाहपञ्चमी, रामनवमी जस्ता धार्मिक कार्यक्रमहरू गर्नमा कुनै प्रकारको अवरोध नहुने बैठकले निर्णय गरेको धनुषाका प्रमुख जिल्ला अधिकारी दहालले जानकारी दिए । बैठकमा जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज कुमार साह, जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव, सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो । 

जानकी मन्दिर परिसरमा कार्यक्रम गर्दा हालै मात्र लगाइएको मार्बल फुट्ने गरेका छन् । यसै गरि जानकी मन्दिर वरिपरि रहेको पसलहरू पनि व्यवस्थित गरिने भएको छ । यसका साथै परिसर बाहिरको भागमा पूजाका लागि आवश्यक भएको फूल, माला तथा टिकाहरू व्यवस्थित रुपमा बिक्री वितरण गर्ने निर्णय भएको धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी दिए ।

यसै गरि जनकपुरधामको अर्को धार्मिक महत्त्वको जनक मन्दिरले विद्युत् महसुल नबुझाएको भन्दै काटिएको विद्युत् लाइन हालका लागि जडान गरिदिने निर्णय भएको छ । विद्युतको बाँकी बक्यौताको विषयमा आवश्यक प्रतिवेदन पेश गर्नका लागि जिल्ला प्रशासन कार्यालय, प्रहरी, गुठी संस्थान, विद्युत् प्राधिकरण, जनकपुरधाम उपमहानगरपालिकाका प्रतिनिधि सहितको कार्यदल गठन गर्ने निर्णय गरेको छ । कार्यदलले समस्या समाधानका लागि प्रतिवेदन पेश गर्ने निर्णय भएको छ ।

नेपाल विद्युत् प्राधिकरणको महसुल विभिन्न मठ मन्दिर, कार्यालय तथा जनकपुरधाम उपमहानगरपालिकाको सडक बत्ती बापत बक्यौता रहेको भन्दै प्राधिकरणले पटक पटक महसुल माग गर्दै आएको छ ।