धरानः धरानमा ग्यास सिलिन्डर विस्फोट हुँदा आठ जना घाइते भएका छन् ।
धरान उपमहानगरपालिका– १७ को आदर्श चौकस्थित सबिता राईको घरमा डेरा गरी बस्ने अञ्जना राईको कोठामा ग्यास विस्फोट हुँदा आठ जना घाइते भएका वडाध्यक्ष मनोज भट्टराईले जानकारी दिए ।
घाइते भएकाहरू मध्ये चार जना गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक प्रभु ढकालले जानकारी दिए ।
घरधनी २७ वर्षीया सबिता राई, कोठा भाडामा बस्ने ४२ वर्षीया अञ्जना राई, ६५ वर्षीया रामकुमारी राई, आठ वर्षीय साङ्केन राई, १० वर्षीय सुमिहाङ राई, कोसी ग्यासका प्राविधिक धरान ११ बस्ने १९ वर्षीय अनीश कार्की र सिराहा बन्दीपुर बस्ने १८ वर्षीय वासुदेव खड्का घाइते भएका हुन् ।
घाइते सबैको उद्धार गरी अहिले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको छ । ग्यास चुहावट भएर विस्फोट हुँदा घरमा भने क्षति नभएको प्रहरी उपरीक्षक ढकालले जानकारी दिए ।