इटहरीः विराटनगर महानगरपालिका १९ की २८ वर्षीया प्रियंका सुनारको शव हत्या गरी बोरामा हालेर फालेको अवस्थामा मोरङ्गकै बुढीगंगा गाउँपालिकामा भेटिएको छ । 

शंकास्पद अवस्थामा शव भेटिएपछि छानविनलाई तिव्र बनाएको मोरङ्ग प्रहरीले हत्यामा संलग्न भएको आशंकामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङको कटहरी गाउँपालिका ५ का ३५ वर्षीय उमेश सरदार, सोही ठाउँका ६२ वर्षीय रामानन्द राम र विराटनगर ७ का ५३ वर्षीय श्रीराम चौधरी र विराटनगर १९ का २९ वर्षीय रमेश साहलाई पक्राउ गरिएको हो ।

प्रियंका हत्या प्रकरणको अनुसन्धान अघि बढाउने क्रममा चार जना व्यक्तिलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी टीकाबहादुर कार्कीेले जानकारी दिए ।

‘हत्यामा संलग्न भएको आशंकामा सुरुमा रामानन्द र रमेशलाई पक्राउ गरिएको हो,’ उनले भने, ‘थप अनुसन्धानपछि उमेश र श्रीरामलाई पनि पक्राउ गरियो ।’ हत्यामा उनीहरुको संलग्नता छ कि छैन भनेर यकिन हुन बाँकी रहेको कार्कीले बताए ।

हत्या गरी बोरामा पोको पारेर फ्यालेको अवस्थामा मोरङको बूढीगंगा गाउँपालिका २ अमाहीस्थित नरसिंह चौधरीको ग्वालीमा प्रियंकाको शव फेला परेको थियो ।