इटहरीः इटहरीका स्थापित समाजिक अभियान्ता, लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ सी का भाइस गर्भनर इटहरी ५ निवासी नरनाथ सापकोटाको निधन भएको छ ।
सन २०२३–२०२४ का लागि गर्भनर नियुक्तिका लागि अमेरिकाको सिकागोमा हुने बिषेश तालिमका लागि त्यसतर्फ जाने क्रममा सापकोटा काठमाडौंमा अचानक बिरामी परेका थिए ।
लायन्स अर्जुन शर्माका अनुसार उनलाई काठमाडौंमा बस्ने घरमा उनिसँगै अमेरिका जान लागेका साथीहरुले लडेको अवस्थामा फेला पारेका थिए । साथीहरु गाडी लिएर घरमा लिन जाँदा उनि अचेत अवस्थामा लडेको भेटेपछि तत्काल उपचारका लागि केएमसी लगिएको थियो । उनको उच्चरक्त चापका कारण ब्रेन हेमरेज भएको डाक्टरले बताएको शर्माले बताए ।
डाक्टरको टीमले उनको तत्कालै टाउकाको शैल्यक्रिया गरेका थिए । शल्यक्रिया गरि भेन्टिलेटरमा राखेर उपचार गराईरहेका सापकोटाको केही बेरअघि निधन भएको खबर पाएको शर्माले जनाए ।
२०३८ साल ताका भारतको आसामबाट बसाई आएका सापकोटाले संभवत इटहरीमा पहिलो पटक दीपक फेन्सी पसल संचालन गरेका थिए । नरम स्वभावका उनि सबैका लालगेडी नै भएको शर्माले बताए । सामाजिक कार्य भने पछि मरिहत्ते गर्ने सापकोटा अमेरिका जानका लागि काठमाडौं जानु एक दिनअघि मात्र सुन्दरहरैंचाको हसिना सिमसार क्षेत्रमा करिब ४० वटा लायन्स क्लबहरुले संयुक्त रुपमा आयोजना गरेको पिकनिक कार्यक्रममा सहभागी भएका थिए ।
अन्तरमुखी स्वभावका उनि आँखा राख्दा पनि नबिझाउने खालका व्यक्ति भएको शर्माले बताए । उनको निधनले इटहरी उपमहानगरले मात्र नभई देशले नै एक असल सामाजिक व्यक्तित्व गुमाएको आफुले महसुश गरेको शर्माले जनाए ।
सापकोटा नेपाली कांग्रेसको राजनितिक नजिक समेत भएर काम गर्दै आएका थिए । उनि राजनिति भन्दाबढी समाजिक कार्यमा बढी लगाब राख्दै आएका व्यति थिए ।
उनको निधनले मर्माहत, दुःखी र अपुरणीय क्षति भएको जनाउँदै इटहरीका स्थापित व्यक्तित्वहरुले यतिबेला समाजिक सञ्चाल फेसबुकमा स्टाटस पोष्ट गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् ।