इटहरीः इटहरी उपमहानगरपालिकाले १६ करोड भन्दा बढि रकम ऋणमा लिएर बसपार्कमा लगानी गर्ने भएको छ । 

इटहरीमा साविक रहेको बसपार्कलाई व्यबस्थित बनाउन नगरविकास कोषसँग ऋण लिन लागिएको हो । 

इटहरी स्थित पुरानो बसपार्क भएको ठाउँलाई व्यवस्थित गर्न १६ करोड २२ लाख १८ हजार रुपैयाँ लागतमा बसपार्क निर्माण हुने भएको हो ।

इटहरी उपमहानगरका मेयर हेमकर्ण पौडेल र नगर विकास कोष काठमाण्डौका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटा बीच इटहरी बसपार्क निमार्ण गर्न सम्झौता भएको छ 

कोषको ७० प्रतिशत लगानी रहने बसपार्कमा इटहरी उपमहानगरपालिकाको ३० प्रतिशत लगानी रहने छ । उपमहानगरपालिका इन्जिनियर जीवन घिमिरेका अनुसार एक बिघा क्षेत्रफलमा फैलिने बसपार्कको तल्लोतलामा टिकट काउन्टर, सोधपुछ कक्ष, प्रतीक्षालय,सभाहल,रेष्टुरेण्ड सहितको हुने छ ।

१८ महिनाभित्र सम्पन्न गर्ने गरी निर्माण हुने छ । ५० वटा बस अट्ने क्षमताको हुने उपमहानगरपालिका कार्यालयले जनाएको छ । पार्किङ सानो ठुलो छुट्टै हुने छ । ढल व्यवस्थापन र डे«न सहितको सुविधा हुने साथै बसपार्क अत्याधुनिक बनाउने नगरको योजना छ ।

इटहरीका मेयर हेमकर्ण पौडेलले इटहरी भएर नै पूर्व–पश्चिम र उत्तर–दक्षिण चल्ने सवारी साधन गुड्ने हुनाले अरु सहरभन्दा सवारी साधनको चाप बढी हुने क्षेत्रलाई व्यवस्थित गर्न लागिएको बताएका छन् ।