इटहरीः विना विभागीयमा सिमित रहेका प्रदेश १ सरकारका ७ जना मन्त्रीले शुक्रबार मन्त्रालय पाएका छन् ।
१३ वटा मन्त्रालय बनाइएकोमा घटाएर ९ वटा मन्त्रालयमा झारेपछि भागवण्डा गर्न सकस भएको तथापी एक हप्ता जतिको विनाविभागिय मन्त्रीहरुले आइतबारबाट भने आफ्नो आफ्नो मन्त्रालयमा काम गर्न पाउने छन् ।
प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विनाविभागीय रहेका मन्त्रीहरुको मन्त्रालय तोक्दै कार्यविभाजन गरेका हुन ।
हिजो बसेको मन्त्रिपरिषद बैठकले मन्त्रिपरिषद कार्यविभाजन नियमावली संशोधन गर्दै ९ वटा मन्त्रालय कायम गरेसँगै मन्त्रीहरुले जिम्मेवारी पाएका हुन् । मुख्यमन्त्री कार्कीले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाहेक आर्थिक मामिला तथा योजना मन्त्रालय र आन्तरिक मामिला तथा कानून आफैंसँग राखेका छन् ।
बाँकी मन्त्रालयमा नेकपा एमालेका तिलकुमार मेन्याङ्बोले खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्रालयको जिम्मा पाएका छन् भने माओवादीका दुर्गा चापागाईले सडक पूर्वाधार तथा शहरी विकास मन्त्रालयको जिम्मा पाएका छन् ।
यसैगरी राप्रपाका भक्तिप्रसाद सिटौलालाई उद्योग, कृषि तथा सहकारी मन्त्रालय र माओवादीका जीवन आचार्यलाई पर्यटन, वन तथा वातावारण मन्त्रालय तोकिएको छ । यस्तै, एमालेका बुद्धिकुमार राजभण्डारीलाई सामाजिक विकास मन्त्रालय र जसपाकी निर्मला लिम्बूलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
मुख्यमन्त्रीले पुस २५ गते तीन जना मन्त्री नियुक्त गरेका थिए । एमालेका तिलकुमार मेन्याङ्बो, राप्रपाका भक्तिप्रसाद सिटौला र जसपाकी निर्मला लिम्बूलाई पहिलो चरणमा मन्त्री बनाएका मुख्यमन्त्रीले दोस्रो चरणमा पुस ३० गते माओवादीका दुर्गाप्रसाद चापागाईं र जीवन आचार्य तथा एमालेका बुद्धिकुमार राजभण्डारीलाई मन्त्री बनाएपनि सबै विनाविभागीय थिए ।
मन्त्रिपरिषद्को बैठकले १३ वटा साविकको मन्त्रालयलाई ९ वटामा सीमित गरेपछि मन्त्रीहरुले पनि जिम्मेवारी पाएका हुन् ।