इटहरीः राँगा चोरी गरेको आरोपमा झापामा एक भारतीय नागरिक पक्राउ परेका छन् । 

पुस २६ गते राती झापा गाउँपालिका ४ निवासी अमालो मियाँको गोठमा बाँधी राखेको दुई वटा राँगा चोरी भएको थियो। 

मियाँको राँगा चोरीमा संलग्न ४ जना मध्ये भारतको विहार राज्य किशनगञ्ज जिल्ला धनतोला ग्राम पञ्चायतका २२ वर्षीय मोहम्मद नाजिर पक्राउ परेका हुन ।

 घटनामा संलग्न अझै तीन भारतीय नागरिक फरार रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए।

चोरी भएको राँगा प्रहरी चौकी टाघनडुब्बाले खोजतलास गर्ने क्रममा नेपाल भारतको दशगजा सीमा क्षेत्र जोडिएको धनतोला ग्राम पञ्चायत निवासी मोहम्मद नाजिर, सोही ठाउँका अन्दाजी २० वर्षीय आजाहार महमद, अन्दाजी १९ वर्षीय ईजाहुल हक र १९ वर्षीय गोदा भन्ने नाम र थर नखुलेका चार जनाले चोरी गरेको अनुसन्धानबाट खुलेको थियो ।

 चोरीपछि नेपाल प्रहरी र स्थानीय जनप्रतिनिधिले भारतीय प्रहरीसँग समन्वय गरी नाजिरलाई चोरिएका दुईवटा राँगासहित पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनलाई प्रहरी कार्यालय झापामा राखेर चोरी शीर्षकमा मुद्दा झापा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको छ।