इटहरीः शाखा रहित बैँकिङ्ग कारोबार गर्दा सजगता अपनाउन  नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई आग्रह गरेको छ । 

केन्द्रीय बैंकको भुक्तानी प्रणाली विभागले आज बुधबार एक सूचना प्रकाशित गर्दै यस्तो आग्रह गरेको हो । 

बैंक तथा वित्तीय संस्थाको आधिकारिक प्रतिनिधि र सहायक प्रतिनिधिमार्फतमात्र तोकिएको सेवा केन्द्रमा गई कारोबार गर्न राष्ट्र बैँकको आग्रह छ । 

सेवाग्राहीले कुनै पनि कारोबार गर्दा विद्युतीय उपकरणमार्फत मात्र गर्न केन्द्रिय बैँकले भनेको छ । 

कुनै पनि कारोबार गरिसकेपछि विद्युतीय उपकरणबाट प्राप्त हुने प्रिन्टेड स्लिप अनिवार्य रुपमा लिई आफूले गरेको कारोवारबमोजिम भए नभएको यकिन गर्नुपर्दछ  भने  साथै विद्युतीय उपकरणबाट सुनिने आवाज (ध्वनि) मार्फत पनि आफूले गरेका कारोबारको यकिन गर्न सकिन्छ।

शाखारहित बैंकिङ कारोबारमार्फत रकम जम्मा गर्दा, ऋणको किस्ता तिर्दा अथवा रकम झिक्दा आफूले कारोबार गरेबमोजिमको भए नभएको बेला–बेलामा बैंक खातामार्फतसमेत यकिन गर्नुपर्दछ। व्यक्तिगत सम्बन्धका आधारमा कसैलाई बैंकमा रकम जम्मा गर्न दिएको भए त्यस्तो रकम सम्बन्धित खातामा जम्मा भए नभएको तुरुन्त यकिन गर्नुपर्दछ।

सेवा सञ्चालनका सम्बन्धमा केही सुझाव तथा गुनासो भएमा राष्ट्र बैँकमा खवर गर्न अनुरोध गरिएको छ ।