इटहरीः मतदानका क्रममा कार्यकर्ताविच विवाद बढेपछि चितवन र सिरहामा गोली चलाइएको छ भने गुल्मीमा मतदान प्रक्रिया स्थगित भएको छ । 

दुई पक्षका कार्यकर्ताबीच विवाद बढ्दा सिराहामा मत पेटिका खोसाखोसको अवस्था आएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाएको छ । 

सिराहाको कर्जन्हा नगरपालिकाका वडानम्बर ६ मिर्चैयास्थित जनता मावि बडहरामाल बुथमा गोली चलेको हो । जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी)का कार्यकर्ताबीच मतपेटिका खोसाखोस हुन थालेपछि प्रहरीले ३ राउन्ड गोली चलाएको हो । 

स्थितिलाई नियन्त्रणमा लिन गोली चलाउनुपरेको जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी सुवास बुढाथोकीले बताए । यस्तै  चितवनको राप्ती नगरपालिका–८ स्थित ब्रम्हस्थली राष्ट्रिय आधारभूत माविमा मतदान प्रक्रिया अवरुद्ध गर्न खोजिएपछि हवाइ फायर गरिएको छ । 

मतदान प्रक्रियलाई अवरुद्ध पार्न खोजेपछि हवाई फायर गरिएको  चितवनका एसपी नवराज अधिकारीले जानकारी दिएका छन् । सो मतदान स्थलमा अहिले मतदान सुरु भएको छ  ।

यसैगरी गुल्मीको मालिकामा मतदान स्थगित भएको छ । क्षेत्र नम्बर २ अन्तर्गत मालिका गाउँपालिका–५ को छापहिले माध्यमिक विद्यालयमा भइरहेको मतदान स्थगित भएको हो ।

बिहान मतदान सुरु भएको केही समयपछि प्रत्यक्ष र समानुपातिक मतपत्र अघिपछि गराइएको भन्दै सत्तारूढ गठबन्धनका कार्यकर्ताले विरोध गरेपछि बिहान साढे ८ बजेदेखि मतदान स्थगीत भएको हो ।मतदान स्थलमा केही समय नाराबाजी भएको थियो । अहिले विवाद समाधानका लागि छलफल भइरहेको बताइएको छ ।