नेपालगञ्जः  नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १० भृकुटीनगरस्थित दिवाकर विक्रम मल्लको घरमा बम बनाउने क्रममा प्रेसर कुकर बम विस्फोट भएको छ । 

बुधबार राती करिब साढे आठ बजेतिर मल्लको घरमा विद्यार्थीले भाडामा लिएको कोठामा बम विस्फोट भएको थियो । नेत्र बिक्रम चन्द नेतृत्वको विप्लव समुहका कार्यकर्ताले बम बनाउने क्रममा विस्फोट भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । 

उक्त विस्फोटमा परेर विप्लव समुहका विद्यार्थी संगठनका जिल्ला अध्यक्ष सल्यान निवासी डिल्ली बहादुर डिसी क्षेत्री र उक्त संगठनका कार्यकर्ता कैलाली निवासी धर्मराज बडुवाल घाइते भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी रामप्रसाद घर्ती मगरले जानकारी दिए । 

प्रहरीका अनुसार प्रहरीको सुरक्षा घेरामा घाइते दुबै जनाको भेरी अस्पतालमा उपचार भइरहेको छ । 

बम बनाउने कार्यमा संलग्न अन्य ३ जना घाइते भएको प्रहारीले जनाएको छ । उक्त घरमा अर्को एउटा पनि बम भेटिएपछि नेपाली सेनाको बज्रदल गण राँझाबाट आएको डिस्पोजल टोलीले बम डिस्पोज गरेको प्रहरीले जनाएको छ ।  

निर्वाचनमा गडबडी गर्ने र जनतामा त्रास फैलाउने उदेश्यले बम बनाउने कार्य भइरहेको आशंका प्रहरीले गरेको छ । जिल्लाका अन्य ठाउँमा पनि यस्ता गतिविधी हुनसक्ने हुँदा प्रहरीले बिहिबारबाट भाडामा बस्नेहरुको बारेमा पत्ता लगाएर खोजतलाश गर्ने जनाएको खबर गोरखापत्र अनलाइनमा छ ।