इटहरीः प्रदेश १ का उद्योगी व्यापारीहरुले बैँकको व्याजदरले व्यवसायमा संकट आउन लागेको भन्दै व्याजदर नियन्त्रणमा चासो देखाउन नेपाल राष्ट्र बैँकका गभर्नरको ध्यानाकर्षण गराएका छन् । 

विराटनगरका उद्योगी–व्यवसायीले बैंकहरुले कायम गरेको उच्च ब्याजदरले औद्योगिक क्षेत्रमा संकट आउने भन्दै नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीको ध्यानाकर्षण गराएका हुन  ।

उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघको प्रतिनिधि मण्डलले गर्भनर अधिकारीलाई एकल अंकको ब्याजदर वा बैंकहरुको राष्ट्रियकरण गर्नुपर्ने सुझाव दिएको बताएको छ । 

उद्योगी व्यापारीहरुले बुधबार गर्भनरसँग भेटेर विद्यमान बैंकिङ नीति, चर्को बैंक ब्याजदर, शतप्रतिशत एलसी मार्जिनका कारण औद्योगिक क्षेत्र प्रभावित भएको बताएका थिए । 

उनिहरुले बैकले  उच्च ब्याजदर असुल्ने काम गरिरहेको, बैंकिङ शुल्क र खर्चहरु बृद्धि भएको लगायतका समस्या गभर्नरलाई सुनाएका थिए । 

उद्योगीहरुको छलफलपछि गर्भनर अधिकारीले समस्या समाधानका लागि आवश्यक कदम चाल्ने आश्वासन दिएको बताइएको छ  ।

गभर्नरसँगको छलफलमा उद्योग संघ मोरङ्गका अध्यक्ष नविन रिजाल, उद्योग संगठनका अध्यक्ष सुयेश प्याकुरेल, नेपाल उद्योग परिसंघ, प्रदेश १ का अध्यक्ष भीम घिमिरेसहित उद्योगीहरु प्रकाश मून्दडा, महेश कुमार जाजू र पवन कुमार सारडाको सहभागिता रहेको बताइएको छ ।