काठमाडौंः नेकपा (एकीकृत समाजवादी)ले मुलुकमा मौलाएको भ्रष्टाचार समग्र अर्थतन्त्रको गम्भीर रोग बनेको निष्कर्ष निकालेको छ । आसन्न मंसिरमा हुने निर्वाचनका लागि सोमबार सार्वजनिक गरेको चुनावी घोषणापत्रमा आर्थिक क्षेत्रमा उल्लेख्य प्रगति गर्न नसक्नुको एउटा प्रमुख कारण भ्रष्टाचार भएको ठहर गरेको छ ।
घोषणपत्रमा नेकपा एकीकृत समाजवादीले भ्रष्टाचार उन्मूलनलाई प्राथमिकता दिएर चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। आगामी ४ मंसिरमा हुने निर्वाचनका लागि नेकपा एकीकृत समाजवादीले सार्वजनिक गरेको चुनावी घोषणापत्रमा आर्थिक क्षेत्रमा मुलुकको प्रगति हुन नसक्नुमा भ्रष्टाचारलाई प्रमुख कारण बताइएको छ।
‘भ्रष्टाचारका कारण लक्षित वर्ग, समुदायसम्म विनियोजित रकम नपुग्ने, विकास निर्माणका काम गुणस्तरहीन हुने वा अनावश्यक लागत बढाउनेजस्ता समस्याले जरो गाडेका छन्’, एकीकृत समाजवादीले भनेको छ, ‘हाम्रो पार्टी समग्र नेपाली समाजबाट भ्रष्टाचारलाई निर्मूल गर्ने अभियान सञ्चालन गर्न संकल्पित छ।’
भ्रष्टाचार उन्मूलनका लागि सबै क्षेत्रको सहयोग आवश्यक रहेको नेकपा एकीकृत समाजवादीको घोषणापत्रमा उल्लेख छ। ‘भड्किलो जीवनशैली भ्रष्टाचारको प्रमुख कारक रहेकाले हाम्रा जनप्रतिनिधिले उदाहरणयोग्य सादा जीवन बिताउने कुरामा विशेष ध्यान दिनेछन्। हाम्रा जनप्रतिनिधिले आफ्नो घरमा हुने विभिन्न पारिवारिक वा सांस्कृतिक कार्यक्रम आयोजना गर्दा वा चाडपर्व मनाउँदा सकेसम्म कम खर्चमा सादा ढंगले सम्पन्न गर्ने कुरामा विशेष ध्यान दिनेछन्’, घोषणापत्रमा भनिएको छ ।
‘भ्रष्टाचारमुक्त सरकार भ्रष्टाचाररहित समाज’ को नारासहित भ्रष्टाचार, घुसखोरी, कमिसनखोरी, अनियमितता, सरकारी काममा ढिलासुस्ती आदिमा कडा निगरानी राख्ने प्रतिबद्धता जनाएको नेकपा एकीकृत समाजवादीले आफ्ना जनप्रतिनिधिको आर्थिक आचरण शुद्ध हुने दाबी गरेको छ। केन्द्रदेखि स्थानीय तहसम्म भएका भ्रष्टाचार, विभिन्न घोटाला काण्डको तत्काल छानबिन गरी दोषीलाई कारबाही गराउन पहल गर्ने प्रतिवध्दता घोषणपत्रमा जाहेर गरेको छ ।




















