भोजपुरः भोजपुरको टेम्केमैयुङ गाउँपालिका–८ गोगने सल्लेनीका कृषक शम्भुप्रसाद नेपालले फलफूल खेतीबाट राम्रो आम्दानी गरेका छन् । उनले व्यावसायिक  ड्रागन फल र कागती खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी गर्दै आएका छन् । 

सुक्खा क्षेत्रमा पनि राम्रो उत्पादन हुने भएपछि किसानले ड्रागनको व्यावसायिक खेती गरिरहेका छन् । दश वर्षअघिबाट व्यावसायिक खेती थालेका उनले एक हजार पाँच सय पिलरमा ड्रागन लगाउनुभएको छ । अहिले तीन सयवटा पिलरमा लगाएको ड्रागनले उत्पादन दिन थालेको छ । आठ सय ५० केजी बिक्री गरिसकेको र एक हजार केजीको हाराहारीमा टिप्न बाँकी रहेको नेपालले जानकारी दिए । 

नेपालले १८ रोपनी क्षेत्रमा कागतीको व्यावसायिक खेती पनि गरिरहेका छन् । फलफूल खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी हुने गरेको कृषक नेपालले बताए ।  

“फलफूल खेतीबाट राम्रै आम्दानी गरिरहेको छु”, उनले भने, “वर्षमा बाह्र लाखसम्म आम्दानी हुन्छ । विस्तार गरेको सबै ठाउँबाट उत्पादन हुने हो भने अझ आम्दानी बढ्छ ।” कृषक नेपालले अहिले आफ्नो पुर्खौली भूमिमा करिब १७ रोपनी क्षेत्रफल डा«गन फल लगाएका छन् । ड्रागन फल रातो प्रतिकेजी रु पाँच सय र सेतो प्रतिकेजी रु चार सयमा बिक्री हुने गरेको छ । 

कागती फार्मबाट प्रति केजी रु एक सयमा बिक्री हुने गरेको छ । यहाँ उत्पादन भएको फल स्थानीय बजारसँगै काठमाडौं जाने गरेको छ । सडकको कारण बजारसम्म पुर्याउन भने सास्ती हुने गरेको कृषक नेपालको भनाइ छ । कच्ची सडक वर्षातले हिलाम्य हुँदा उत्पादित वस्तुलाई ढुवानीमा समस्या छ । 

नेपालले ‘दानाबोटे फलफूल तथा कृषि फर्म’ दर्ता गरेर व्यावसायिक फलफूल खेती थालेका हुन् । जिल्लामा पहिलो पटक व्यावसायिकरुपमा ड्रागनको खेती थालेका नेपाल उदाहरणीय कृषकको रुपमा परिचित छन् । रासस