दोधारा चाँदनीः कञ्चनपुरको लालझाँडी गाउँपालिकामा बाढीले आठ लाख बराबरको स्वास्थ्य सामग्रीमा क्षति गरेको छ ।

शुक्रबारदेखि वर्षाले लालझाँडी गाउँपालिकामा रहेको स्वास्थ्य शाखाको स्टोरमा बाढी पस्दा स्वास्थ्य सामग्रीमा क्षति भएको गाउँपालिका स्वास्थ्य शाखाका उपसंयोजक दशरथ रानाले बताए । उनका अनुसार स्टोरमा रहेका सिटामोल, जीवनजल, आरयुटियस (बच्चालाई खुवाउने औषधि), स्लाइन पानी र इन्जेक्सनलगायत अति आवश्यक औषधि डुबानमा परेर क्षति भएको  छ ।

“स्वास्थ्य शाखाको स्टोरमा बाढी पस्दा आठ लाख बराबरको औषधिमा क्षति पुग्यो”, उनले भने । उनले सबैभन्दा बढी प्रयोगमा आउने सिटामोलको ८० हजार ट्यावलेट पूर्ण रुपमा नोक्सान भएको बताए । तीन सय प्याकेट आरयुटियस, दुई सय बोतल भाइरेक्स र १० हजार प्याकेट जीवनजलमा नोक्सानी पुगेको छ ।“धेरै औषधिमा नोक्सानी पुगेको छ स्टोरमा जान सम्भव छैन”, उनले भने, “बाढीको बेला चाहिने अत्यावश्यक औषधिमा नोक्सानी पुगेपछि समस्या भएको छ ।”

उनका अनुसार ८० हजार रुपैयाँको सिटामोलमा नोक्सानी भएको छ भने एक लाख बराबरको जीवनजलमा नोक्सानी पुगेको छ । त्यसैगरी रु एक लाख बराबरको प्यारासिटामोलमा नोक्सानी पुगेको छ । १० हजारको भाइरेक्स र २० हजार बराबरको आरयुटियस, रु ४० हजार बराबरको कोभिड–१९ किट,४५ हजारको स्नानिटाइजर, एक लाखको अक्सिजन कन्सेन्ट्रेटरमा क्षति भएको छ । त्यसैगरी इन्जेक्सनलगायत अन्य औषधिमा गरी आठ लाख बराबरको औषधि क्षति भएको उनले बताए । 

कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीले जिल्लामा क्षतिको पूर्ण विवरण नआएको जानकारी दिए । “मानवीय क्षति भएको छैन, धेरै ठाउँमा जनावर र खाद्यान्नमा क्षति भएको छ, सबै स्थानीय तहले क्षतिको विवरण सङ्कलन गरिराखेका छन्”, उनले भने, “सोमबारसम्म क्षतिको पूर्ण विवरण आउँछ ।” -रासस