धरानः बराह बचत तथा ऋण सहकारी सँस्थाले हजारौँ लगानीकर्ताको करोडौँ रकम फिर्ता गर्न नसकेको समस्याको साक्षि बनेको धरान उपमहानगरले नगरभरिका सहकारी सँस्थालाई भेला गरेर ऐनविपरीत नजान निर्देशन जारी गरेको छ । 

उपमहानगरभरिका सहकारी संचालक तथाव्यवस्थापकहरुको भेला बोलाएर नगरप्रमुख हर्क साम्पाङ्ग र उपप्रमुख अइन्द्रविक्रम बेघाले ऐन नियमविपरीत सहकारी सञ्चालन नगर्न निर्देशन जारी गरेका हुन् । पछिल्लो समय सहकारीहरु संकटमा पर्दै गएपछि धरान उपमहानगरपालिकाले सञ्चालक तथा व्यवस्थापकहरुको भेला गरेर यस्तो कदम चालेको हो । नियमअनुसार चलेका सहकारीहरुमा समस्या नभएको र नियमविपरीत चलेका केही सहकारीको कारण समग्र सहकारीहरुलाई समस्या भएको नगरप्रमुख साम्पाङ्गले बताएका थिए ।  छलफलमा मेयर साम्पाङले कोपोमिस सिस्टममा धरानका ८८ वटा सहकारीमध्ये ३७ वटाले मात्र हिसाब पठाएकोले धेरैले नियम पालना गरेको नदेखिएको बताए । 

 मेयर साम्पाङले नियत खराब भएका सहकारीमा नियम कडा भएपनि समस्या आउने बताएका थिए । जिल्ला सहकारी संघका वरिष्ठ उपाध्यक्ष दिनेश श्रेष्ठले सहकारीहरु मात्र होइन, विश्वमा नै आर्थिक मन्दीका कारण सबै क्षेत्र प्रभावित भएको धारणा राखेका थिए । सहकारीकर्मीहरुले नगरमा सहकारी विकास समिति गठनको मागसमेत गरेका थिए  । सहकारी संघका उपाध्यक्ष श्रेष्ठले कम्तिमा ५ करोड रुपैँयाको सहकारी कोष खडा गर्न माग गरेका थिए । कार्यक्रममा बोल्दै  नगर सहकारी समन्वय समितिकी अध्यक्ष मिसन लामाले पनि अनुगमन, नियमन, दर्ता र खारेजीको लागि निगरानी गर्न विभाग गठन नभएको भन्दै सहकारी विकास समिति चाडो गठन गर्न आग्रह गरेकी थिइन् ।