इटहरीः मान्छेले झट्ट कृषि पेसा रोज्दैनन् , प्रायः धेरैलाई सुकिलोमुकिलो भएरै हिँड्न मनपर्छ । तर कृषि पेसामा सँधैभरि सुकिलोमुकिलो भएर हिँड्ने छुट छैन । काम गर्ने मान्छे राखेको छु भनेर पनि हुँदैन अथवा धर पाइँदैन । राखेको अथवा रोजगार दिएको मान्छेलाई पनि साह्रोगाह्रो पर्न सक्छ, उसका लागि पनि चाडबाड आउँछ । त्यतिबेला ‘म मालिक हुँ’ भनेर पालिएका पशुहरुको हेरचाह नगरी बस्न मिल्दैन ।

302115238_573974451094595_5339153871265900453_n

त्यतिबेला मैदानमा उत्रिनै पर्छ ।  त्यसैले पनि कृषिलाई दुखिया पेसा भनेर पर सर्नेहरु पनि थुप्रै छन् हाम्रो समाजमा ।  तर रामधुनी नगरपालिकाको एउटा लुइटेल परिवारका दुई दाजुभाइ कृषिलाई नै पेसा बनाउन सकिन्छ भनेर मज्जाले लागि परेका छन् । कृषि व्यवसाय नै होइन भन्ने भनाइको विरोध गर्दै आएका भीम त्यही भनाइलाई चिर्न आफू कृषिमा जोडिएको बताउँछन् ।

301871853_779046833147520_6645909356543966778_n

१० वर्षअघि रामधुनी कृषि फार्मको नाममा सञ्ंचालन भएको फार्म, जहाँ १५ वटा गाई मात्र पालिएका थिए । सुकिलोमुकिलो व्यवसाय हार्डवेयर पसल सञ्चालन गरेर बस्दै आएका भीम लुइटेल र उनका भाइ जीवन लुइटेलले कृषिमा रमाउने निधो गरे अनि जन्मियो रामधुनी कृषि फार्म । 

कृषिमा लामो अनुभव नभएपनि सबै दाजुभाइ दिदीबहिनी विदेशै जानुपर्छ भन्ने मान्यता बढ्दै गर्दा मेहनत गरियो भने विदेशमा भन्दा बढी देशमै कमाउन सकिन्छ भन्ने हिसाबले कृषिमा लगानी गर्ने अठोट लिएर अगाडि बढेको सञ्चालक भीम लुइटेल बताउँछन् । कुनै समय साढे ५ बिघा जमिनबाट सुरु गरेको एउटा कृषि व्यवसाय अहिले १८ बिघा जमिनमा फैलिएको छ । फार्मलाई बढाउने क्रममा लुइटेल दाजुभाइले अहिले बाख्रा, गाई, भैँसी, टर्की, हाँस र लेयर्स कुखुरा पनि हालेका छन् । 

301925684_643178163779262_437750565666932685_n

व्यावसायिक अण्डा उत्पादन गर्ने हिसाबले दुई महिनाअघि मात्र ५ हजार ६ सय लेयर्स कुखुरा हालिएको सञ्चालक जीवन लुइटेलले बताए । पहिला रामधुनी कृषि फार्मबाट दर्ता गरिएको यस फार्मलाई अहिले प्राइभेट लिमिटेडको रुपमा विकास गर्ने क्रममा लुइटेल बन्धु कृषि फार्म प्रालिमा विकास गरिएको छ । सानाठूला गरेर ५३ वटा गाईभैँसी, ८७ वटा बाख्राखसीसहित रहेको यो कृषि फार्म रामधुनी नगरपालिका भित्रकै दोस्रो ठूलो कृषि फार्म रहेको भीमको दाबी छ । अहिले गाई र भैँसीको दुध गरेर ८० हजार रुपँैयासम्मको आम्दानी हुने गरेको लुइटेल बन्धु कृषि फार्म प्रालिको भनाइ छ । 

आफूसँग भएका गाईहरु धेरै स्वीस होलिस्टेन रहेको जीवनले सुनाए । एउटा गाईले दिनको दुई साँझ गरेर ३२ लिटरसम्म दुध दिने गरेको उनले सुनाए । अहिले सो कृषि फार्मबाट दैनिक १ सय ६० लिटर दुध उत्पादन हुने गरेको छ । दुध धेरै दिनेमा भैँसीभन्दा पनि गाई नै अग्रस्थानमा रहेको पनि जीवन सुनाउँछन् । आफूहरुसँग भएको एउटा गाईको मुल्य ७ लाख रुपैयाँसम्म पर्ने जीवनका दाजु भीम लुइटेलले बताए । फार्ममा दुध दिने र नदिने गाईभैँसीको संख्यालाई आधा दुध दिँदै गर्ने र आधा पुनः बच्चा जन्माउनेगरी व्यवस्थापन गरिएको छ । 

301703853_583209423530730_8861790557518894213_n

उता, बाख्राहरुको व्यवस्थापन पनि उत्तिकै राम्रो गरेको पाइन्छ । ८७ वटा बाख्रामा कुनै पनि लोकल जातिका बाख्राखसी छैेनन् । धेरैजसो बोअर र जमुनापारि पालिएका छन् । लुइटेल दाजुभाइले बोअर जातको बोको अष्टे«लियाबाटै ३५ हजार रुपैयाँ प्लेन भाडा दिएर झिकाएका थिए । २ वर्षको एउटा बोअर जातको बोकाको मूल्य दुई लाख ५० हजार रुपैयाँ हाराहारी रहेको बताइन्छ । 

रामधुनी कृषि फार्ममा हामीले देखेको गज्जबको कुरा त के छ भने गाईभैँसी, बाख्रा र कुखुराका अलगअलग ब्लक बनाइएको छ र काम गर्ने कामदार पनि अलगअलग नै राखिएको छ । एउटा ब्लकमा काम गर्ने कामदारले अर्को ब्लकमा जान निषेध छ । यदी कुखुको ब्लकमा काम गर्नेले बाख्राको अथवा गाईको ब्लकमा जानुपरे नुहाएर मात्र जान पाउने सञ्चालक जीवन लुइटेल सुनाउँछन् । पशुहरुमा लाग्ने विभिन्न प्रकारका रोगहरु सर्न सक्ने भएका कारण ख्याल गर्न एक ब्लकबाट अर्को ब्लकमा जाँदा ख्याल गर्न भनिएको हो । 

हुन पनि बेलाबेलामा आउने रोगका कारण पशुहरुबाट लुइटेल बन्धु कृषि फार्म प्रालिले निकै ठूलो नोक्सानी व्यहोरेको छ । अघिल्लो तीन चार महिनादेखि बाख्राहरुमा फैलिएको अस्वभाविक रोगका कारण ३२ वटाभन्दा बढी बाख्रा मरिसकेका छन् । बाख्राको रोग नै नेपालमा अन्तिम अवस्थामा पुगेपछि पत्ता लागेको र औषधि नेपालमा उपलब्ध नै नभएका कारण बाख्राहरु मरेको जीवनले हामीलाई सुनाए । उनका दाजु भीमका अनुसार पशुहरुमा गरिने बीमा नामको मात्र बीमा भएको छ । बैँकबाट ऋण लिने प्रकृयाका लागि पशुहरुको अनिवार्य बीमा गराउनु पर्छ तर बीमा कम्पनीले पछि केही भइहाले दाबी भुक्तानी नगर्ने सर्तमा मात्र बीमा गर्ने गरेको छ । 

302102353_457070942810192_7130108868140141429_n

यता गाईमा नेपाल सरकारले १ लाख रुपैयाँ सम्मको मात्र बीमा गर्ने गरेको भएकाले आफ्ना ७ लाख मूल्यका गाईको १ लाखको बीमाले केहि नहुने भएकाले पशु बीमामा आफूले चासो नदेखाएको भीम सुनाउँछन् । यसरी कृषिलाई नै पेसा बनाएर अघि बढेका भीम र जीवन आजसम्म स्थानीय सरकारले केही पनि अनुदान उपलव्ध नगराएको बताउँछन् । 

कषिलाई पेसाको रुपमा मात्र लाने होइन, यसबाट क्रान्ति पनि गर्न सकिन्छ भन्ने विश्वास गर्ने यी लुइटेल दाजुभाइले वार्षिक रुपमा सरदर ३५ लाख सम्मको आम्दानी गर्ने गरेको सुनाए । फार्ममा १३ जनालाई रोजगारी दिइएको छ भने कामदारलाई खाने र बस्ने व्यवस्था त्यहीँ गरिएको छ । फार्मले ओगटेर बाँकी रहेको भागमा कृषि घाँसहरु छरिएको छ । हेर्दा मनै लोभ्याउने फर्मको वरपरिको हरियालीले झनै हेरिरहन मन लगाउँछ ।