फिदिमः पूर्वी पहाडलाई तराईसँग जोड्ने द्रुत सडकमार्गको रुपमा बिस्तार गरिएको तमोर करिडोर कालोपत्रे हुने भएको छ । यो सडकलाई पूर्वी पहाडको ‘लाइफ लाइन’को रुपमा हेरिएको छ ।

सुनसारीको चतरादेखि मुलघाट हुँदै पाँचथरको माझीटार, अमरपुरडाँडा र गणेशचोकसम्मको एक सय ५८ किलोमिटर सडकमध्ये एक सय १० किलोमिटर सडक कालोपत्रेका लागि ठेक्का खुलेको हो ।

‘करिडोरको गणेशचोक–मुलघाट सडक कालोपत्रेका लागि ठेक्का खुलेको छ,’ आयोजना प्रमुख कुवेर नेपालीले भने ‘दुई खण्डमा बिभाजन गरेर कालोपत्रे गर्ने गरी ठेक्का खुलेको हो ।’ यो क्षेत्रमा आठ ओटा मोटरएबल पुल निर्माण गर्नुपर्ने हुन्छ । जसमध्ये सात ओटा पुलका लागि ठेक्का लागिसकेकोे छ ।

पाँच अर्ब ७६ करोडको लगानीमा नेपालकै नमूना सडक बनाउने गरी ठेक्का खुलेको हो । ‘आसपाल प्रविधिबाट कालोपत्रे गर्न लागिएको हो,’ नेपालीले भने ‘यो सडकलाई नेपालकै नमुन सडक बनाउने लक्ष्य हो ।’

तमोर नदीको किनारै किरान बिस्तार गरिएको यो सडक डबल लेनको हो । छ अर्ब १५ करोड १४ लाख खर्चिएर सडकको ट्र¥याक विस्तार गरिएको थियो । कतिपय ठाँउमा रुट परिवर्तन भएपछि लागतमा केही वृद्धि भएको बताइएको छ ।

पूर्वी पहाडका पाँचथर, तेह्रथुम, धनकुटा र ताप्लेजुङको आर्थिक बिकासका लागि तमोर करिडोलाई मेरुदण्डको रुपमा लिइएको छ । तराई र प्रदेश राजधानीसँग जोड्न छोटो दूरीको सडक भएकाले यसलाई महत्वका साथ हेरिएको हो ।