इलामः कृषि पर्यटनको जिल्लाको रुपमा स्थापित हुन सफल नेपालको एकमात्र जिल्ला इलामको सूर्योदय नगरपालिकामा पछिल्लो एक दशकदेखि अगौटे स्कुसको खेतीले किसानको जीवनस्तरमा सुधार भएको छ ।

यहाँबाट हाल दैनिक ३२ लाख रुपियाँ बराबरको स्कुस भारतीय बजारमा जाने गरेको छ । ६ महिनाभित्र ५८ करोडभन्दा बढी मूल्यको स्कुस बेचेर नगरवासीहरुले रकम भित्र्याउन सफल भएका छन् । यसलाई बंगलादेशमा समेत पठाउन सकिने बंगलादेशबारे जानकारी राख्ने अनिल भेटवाल बताउँछन् । कृषि अभियन्ता जीवनप्रकाश राईले इलाममा कृषि भ्रमण गरी संकलन गरेको कृषक तथा वितरक तथ्याङ्कको आधारमा उनले यस्तो बताएका हुन् ।

skush5    

यस स्कुसको भारतीय बजारमा हाल बिक्रीवितरण भइरहेको भन्दा ५० औँ गुणा धेरै माग रहेको छ । बंगलादेशसमेत पठाउन सकियो भने यसको माग हजारौं गुणा बढेर जानेछ । यसको लागि प्रदेश १ सरकारले तीव्र पहल गरिदिनु पर्ने उनको भनाइ छ । इलामका अरु ठाउँमा स्कुस राम्रो उत्पादन हुने बताइन्छ । इलामको सूर्योदय नगरपालिका १२ जर्सिङ गाउँका किसानले स्कुसको दाना बेचेर ३० लाखभन्दा बढी आम्दानी लिइरहेका छन् । वर्षैभरि सिजनअनुसार तरकारी उत्पादन गरेर बिक्री गर्ने कृषकहरु यतिबेला स्कुसको दाना टिपेर बेच्नमा व्यस्त छन । घर छेउको बारीमा स्कुसको माच बनाई हरेक वर्ष यसरी नेै स्कुस खेती गर्ने गरेका छन् । 

skush2

तरकारीको रूपमा प्रयोग गरिने स्कूस एकै सिजनमा लाखौ रुपैयाँ सम्मको बिक्री हुने कृषक गोविन्द राई बताउँछन् । त्यहाँका २५ घरभन्दा बढी किसानको बारीमा स्कुसको माच देख्न सकिन्छ । प्रत्येक किसानले दुई सय मनसम्म फलाउने गर्छन् । त्यहाँको गाउँबाट एक सिजनमा ४० हजार मन स्कुसको दाना निकासी हुने गर्दछ । प्रतिकिलो २० रुपैयाँको दाममा एक मनको आठ सय रुपैयाँ हुन्छ । एक जना किसानले दुई सय मन उत्पादन गर्दा डेड लाख आम्दानी लिने गर्दछन् । २० घरले स्कुसको दाना बेचेरै ३० लाख रुपैयाँ जर्सिङ गाउँमा भित्रिने गर्छ । एक पटक रोपेपछि स्कुसको पहिले मुन्टा बेचेर आम्दानी लिन सकिन्छ, त्यसपछि दाना र जराबाट पनि आम्दानी लिन सकिन्छ ।  स्कुसको टुप्पा वैशाखदेखि कात्तिकसम्म टिपेर बेच्न सकिने र त्यसपछि दाना र जरा बेचेर आम्दानी लिन सकिने भएकाले पनि स्कुस खेतीबाट फाइदा हुने गरेको किसान बताउँछन् । 

skush1

इलामबाट दिनहुँ गोलभेडा, कोबी र मुलासमेत लिएर जाने पिकअप गाडीहरुले सबैभन्दा बढी स्कूस लाने गरेको पाइन्छ । किसानले हप्तामा तरकारी बेचेरै  हजाराँै रुपैयाँसम्म हात पार्ने गरेका छन् । स्कुस प्रतिकेजी १५ रुपैयाँदेखि २० रुपैयाँसम्ममा बिक्ने गर्दछ । दिनहुँ किसानबाट लगिएको स्कुस मेची राजमार्गको कोल्बुङ क्षेत्रमा रहेका फुटपाथका तरकारी व्यापारीलाई बिक्री गर्ने गरेका छन् । सबैभन्दा बढी बिर्तामोड, दमक, फिक्कल बजार, पशुपतिनगर बजार र मेची राजमार्गका विभिन्न स्थानमा बिक्री हुन्छ । राजमार्गमा गुड्ने गाडी रोकेर यात्रुले तरकारी किन्ने भएकोले राजमार्ग किनारमा  तरकारी बेच्न राखेका हुन्छन् । कतिपय व्यापारीले भने झापाका बजारहरूमा लान्छन् । यसरी भारतको नक्सलबाडी, पानीटंकी र सिलिगुडीसम्म पनि स्कुस पुग्ने गरेको पाइन्छ ।