काठमाडौँः श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेर बहादुर कुँवरले विदेशमा कमाएको पैसा विलासितामा खर्च भइरहेकाले त्यसलाई उत्पादनका क्षेत्रमा लगानी गर्नुपर्ने बताएका छन् ।

चन्द्रलोक प्रतिष्ठानद्वारा शुक्रबार आयोजित वैदेशिक रोजगारका क्षेत्रमा देखिएका समस्य र समाधानका उपाय विषयक अन्तरक्रिया एंव् बधाइ तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री कुँवरले विदेशमा दुःख गरेर कमाएको पैसा स्वदेशमा विलासिताका सामन किन्नमा खर्च भइरहेकाले त्यसलाई उत्पादनको क्षेत्रमा लगाउनु पर्ने बताएका हुन् । 

 उनले विदेशी पुँजी र र सीपलाइ देश निर्माणमा लगाउन सबैमा आग्रहसमेत गरेका छन् । ‘नेपालीहरुले दुःख गरी विदेशमा पैसा कमाउनु हुन्छ तर त्यो पैसा विलासिताका सामान किन्नमा खर्च भइरहेको छ । त्यो रकमलाई उत्पादनका क्षेत्रमा लगाउन सक्यो भने बिस्तारै विदेश जाने बाध्यता पनि हटेर जान्छ र त्यसले रोजगारी पनि सिर्जना गर्छ ।’ मन्त्री कुँवरले भने ।

नेपालीहरु वैदेशिक रोजगारमा जानु रहर नभई बाध्यता भएकाले विदेशमा कमाएको पैसालाई पनि त्यहीअनुसार उपयोग गर्नमा उनले जोड दिए । कार्यक्रममा बोल्दै मन्त्री कुँवरले गैरकानुनी रुपमा विदेश गएका कामदारहरुको शवलाई नेपाल ल्याउन नसकिरहेको अवस्थामा आफूले परराष्ट्र मन्त्रालयसँग आवश्यक छलफल गरिरहेको समेत जानकारी गराए ।

वैदेशिक रोजगारको नाममा ठगिनेहरुको संख्या धेरै भएकाले यसबारे नागरिकहरु आफँै सचेत हुनुपर्ने मन्त्री कुँवरको भनाइ छ । विदेश जाँदा सबै जानकारी लिएर मात्र जान उनले आग्रह पनि गरे । रोजगारिका लागि विदेश पठाइदिन्छु भन्दै विभिन्न बहानामा ठगी गर्नेहरुलाई उजुरीका आधारमा सरकारले कारबाही गरिरहेको समेत मन्त्री कुँवरले बताए ।