काठमाडौँः केही दिनदेखि परेको लगातार वर्षाका कारणले वाग्मती प्रदेशमा हालसम्म ८८ प्रतिशत धान रोपाइँ कार्य सकिएको वाग्मती प्रदेशको कृषि विकास निर्देशनालयको कार्यालय हेटौँडाले जनाएको छ ।

भौगोलिक विकटता र सिँचाइको अभाव रहेको वाग्मती प्रदेशमा धानखेतीका लागि आकाशको पानीका भरमा खेती गर्नु परेकाले धान खेतीमा समस्या रहेको बताइएको छ । साथै किसानलाई मलको पनि समस्या रहेको छ ।

वाग्मती प्रदेशको १३ जिल्लामा एक लाख २० हजार ५६९ हेक्टर जमिनमा धानखेती हुँदै आएको छ । तर, अहिलेसम्म वाग्मती प्रदेशमा करिब एक लाख छ हजार हेक्टर जमिनमा धानखेतीका लागि रोपाइँ सकिएको सो कार्यालयले जनाएको छ ।  

कार्यालयबाट प्राप्त विवरणअनुसार मकवानपुर जिल्लामा ११ हजार हेक्टर जमिनमध्ये आठ हजार ९०० हेक्टर जमिनमा, चितवन जिल्लामा धानखेती हुने २२ हजार ९७७ हेक्टर जमिनमध्ये २० हजार ७०० हेक्टर जमिनमा धानखेती, नुवाकोटमा १४ हजार २८३ हेक्टर जमिनमध्ये १२ हजार २०० हेक्टर जमिनमा धान रोपाइँ कार्य सकिएको बताइएको छ । 

त्यस्तै काभ्रेपलाञ्चोकमा नौ हजार हेक्टर जमिनमध्ये आठ हजार ३०० हेक्टरमा, सिन्धुपाल्चोकमा आठ हजार ५०० खेती जमिनमध्ये आठ हजार २०० हेक्टरमा, रामेछापमा आठ हजार ८९३ हेक्टर जमिनमध्ये पाँच हजार ३०० हेक्टर जमिनमा, दोलखामा दुई हजार ९२८ हेक्टर जमिनमध्ये दुई हजार ४५० हेक्टर जमिनमा, सिन्धुलीमा १५ हजार ४२३ हेक्टर जमिनमध्ये १३ हजार ४१८ हेक्टर जमिनमा तथा धादिङमा ११ हजार १५९ हेक्टर जमिनमध्ये नौ हजार ५०० हेक्टर जमिनमा धान रोपाइँ सकिएको सो कार्यालयले जनाएको छ ।

ललितपुरको चार हजार १७५ हेक्टर, भक्तपुरको तीन हजार ९२५  हेक्टर तथा काठमाडौंको पाँच हजार ९२५ हेक्टर जमिनमा धानखेतीका लागि रोपाइँ सकिएको कार्यालयकाबाट जानकारी दिइएको छ । उक्त तीन जिल्लामा शतप्रतिशत रोपाइँ भइसकेको छ । -रासस