बराहक्षेत्रः स्थानीय तह निर्वाचन २०७४ मा माओवादी केन्द्र बराहक्षेत्र नगरपालिकामा तेस्रो स्थानमा थियो । उक्त निर्वाचनमा नेकपा माओवादी केन्द्रका मेयर उम्मेदवार कमलबहादुर कट्वालले २ हजार ७ सय ३८ र उपमेयर संगीता राईले २ हजार, ८ सय ८३ मत प्राप्त गर्दै पार्टीलाई तेस्रो स्थानमा पुर्याएका थिए । सोही सालको मंसिरमा सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि माओवादी केन्द्र र नेकपा एमालेको देशैभरि चुनावी तालमेल भयो । पछि एकीकरणसमेत भयो । दुई पार्टीको नगरस्तरीय समायोजनपछि बराहक्षेत्र नगरको अध्यक्ष बने, उनै कमलबहादुर कट्वाल ।
सुरुका केही समयमा एमालेका नेता तथा कार्यकर्ताहरूले माओवादीको अस्तित्व स्वीकार नगरिरहेको अवस्थामा स्थिति असहज भएपनि नगरमा विस्तारै तत्कालीन कम्युनिस्ट पार्टी एक ढिक्का भएको जानकारहरूको बुझाइ छ । यद्यपि २०७७ को फाल्गुन २३ गते सर्वोच्च अदालतले माओवादी र एमालेलाई ब्यँुताइदियो । हालकी नगर कमिटी कार्यवाहक अध्यक्ष संगीता किराँती भन्छिन्, ‘केन्द्रीय नेताहरूले एमाले रोजेपनि बराहक्षेत्रका माओवादी नेता तथा कार्यकर्ताहरू (एकाधबाहेक) एमालेमा गएनन् ।’ उनका अनुसार त्यसपछि पार्टीले आफ्नै लय समात्दै गयो र, संगठन निर्माणमा लागिपर्यो ।
माओवादी केन्द्र बराहक्षेत्रको लागि ’टर्निङ पोइन्ट’ बन्यो, गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचन । सो निर्वाचनमा तालमेलअनुसार मेयर कांग्रेसबाट र उपमेयरसहित प्रत्येक वडामा एक सदस्य माओवादीबाट हुनेगरी चुनावी तालमेल भयो । यद्यपि, माओवादीभित्रैबाट यस तालमेलको चर्को विरोध सुरू भयो । नगरका १ र ११ नम्बर वडाका अध्यक्ष पदसहित अन्य पदहरूमा समेत स्वतन्त्र उम्मेदवारी दर्ता गराइयो । तत्कालीन नगर अध्यक्ष कमलबहादुर कट्वालले पार्टीको अस्तित्व नै समाप्त हुनेगरी कांग्रेससँग सति पठाएको भन्ने आरोप लागेपछि अध्यक्षले पदबाट राजीनामा गरे । तत्कालै पार्टीको प्रदेश कमिटीले पार्टीको हितविपरीतको कार्य गरेको भन्दै उनलाई निलम्बनसमेत गर्यो ।
अहिले नगरमा संगीता किराँती कार्यवाहक अध्यक्ष छिन् । निर्वाचनपश्चात् नगर कमिटीले खासगरी चतरा क्षेत्रका रञ्जित लोहनीसहित आधा दर्जनभन्दा बढी नेता तथा कार्यकर्तालाई कारबाही गर्यो । अहिले पार्टीको अवस्था खस्किँदो छ । माओवादीनिकट नेताहरू भन्छन्, ‘बराहक्षेत्रमा माओवादी ओरालो लाग्नुको प्रमुख कारण गुट र उपगुट हावी हुनु हो । जनयुद्धमा भाग लिने र नलिनेहरूको मतभेद यहाँको वडास्तरसम्म रहेको पाइन्छ । यसैबीच, पार्टीमा गुट र उपगुट रहेको कुरा कार्यवाहक अध्यक्ष संगीता किराँतीले समेत स्वीकार गरेकी छन् ।
एकपछि अर्को गरी पार्टी परित्याग गर्ने होडबाजी नै चलेको माओवादीमा केही हप्ताअघि युवा नेता अच्युत भट्टराईले पार्टी त्यागेको घोषणा गरे । तत्पश्चात् केही दिनयता मात्र बराहक्षेत्र ११ मा अध्यक्ष पदमा छुट्टै उम्मेदवारी दिएका राजकुमार साह राप्रपा प्रवेश गरे । प्रदेशपोर्टलसँगको कुराकानीमा साहले भनेका छन्, ‘पार्टीले राष्ट्रिय स्वाधीनता, समावेशिता र राष्ट्र हितका पक्षमा अडान लिन नसकेर गुट तथा उपगुटमा रुमल्लिन थालेपछि पार्टी छोड्न म बाध्य भएँ ।’
झन्डै २१ वर्ष माओवादीलाई योगदान दिएका साहले गत निर्वाचनमा पार्टीका जिम्मेवार नेताहरूले माओवादी केन्द्र कांग्रेसलाई बेचेको आरोप लगाए । पार्टीभित्र आइरहेका यस्ता गुट र उपगुटका विषय र यसबाट पार्टीलाई परेको असरबारे प्रदेश कमिटीलाई ध्यानाकर्षण गराएको भन्दै नगर कमिटीले समेत पार्टीलाई थप क्षति हुन नदिन कदम चाल्ने योजना रहेको कार्यवाहक अध्यक्ष किराँतीको भनाइ छ ।