इटहरीः सुनसरीको रामधुनी नगरपालिकाले आफ्नो नगर क्षेत्रका जग्गाको सरकारी मूल्याङ्कनमा चालु आर्थिक वर्षभन्दा केही वृद्धि गरेको छ । 

रामधुनी नगरपालिकाको मुल लोकमार्ग पक्की सडकसँग जोडिएको जग्गाको सरकारी मूल्याङ्कन चालु आर्थिक वर्षमा कट्ठाको ३५ लाख रहेकोमा आगामी आर्थिक वर्ष २०७९÷८० को लागि बढाएर कट्ठाको ४० लाख पुर्याइएको छ । रामधुनी नगरपालिका तथा साविकको बक्लौरी गाविसका जग्गा पकली चतरा सडकखण्ड तथा मुल सडकसँग जोडिएका जग्गाको मूल्याङ्कन चालु आर्थिक वर्षमा कट्ठाको २० लाख रहेकोमा आगामी आर्थिक वर्षका लागि कट्ठाको २५ लाख पुर्याइएको छ भने शाखा पिच सडकसँग जोडिएका जग्गाको मूल्य १२ लाख प्रतिकट्ठा रहेकोमा प्रतिकट्ठा ६ लाख बढाएर १८ लाख पुर्याइएको छ । त्यस्तै, सोही क्षेत्रको सबै वडाका दायाँबायाँ सडकसँग जोडिएका जग्गाको मूल्य कट्ठाको साढे  ४ लाख देखि ६ लाख रुपैँयासम्म छ । तर बाटोले नछोएका साविक बक्लौरी गाविसका जग्गाको मूल्याङ्कन भने कट्ठाको २ लाख मात्र राखिएको छ । 

यता साविक भादगाउँ सिनुवारी गाविसमा वडा नम्बर ३,४ र ५ क का लोकमार्ग तथा मुल पक्की सडकसँग जोडिएका जग्गाको मूल्य कट्ठाको २२ लाखबाट बढाएर २६ लाख रुपैयाँ पुर्याइएको छ । त्यस्तै, क र ख मा परेका वडाहरुको दायाँबायाँ सडकसँग जोडिएका जग्गाको मूल्याङ्कन कट्ठाको २३ लाख पुर्याइएको छ । यसैगरी, वडा नम्बर २,३,४ र ५ को दायाँबायाँ सडकसँग जोडिएका जग्गाको मूल्य भने कट्ठाको १७ लाख पुर्याइएको छ । सो जग्गाको मूल्याङ्कन चालु आर्थिक वर्षमा कट्ठाको १३ लाख रुपैयाँ थियो ।

उक्त वडाको भित्री सडकसँग जोडिएका जग्गाको मूल्याङ्कन कट्ठाको ८ लाख छ भने उक्त वडाका सम्पूर्ण भित्री जग्गाको मूल्याङ्कन कट्ठाको ३ लाख रुपैयाँ छ । तर वडा नम्बर ५ को चतरा जाने बासपार्कसँग जोडिएको जग्गाको मूल्याङ्कन भने कट्ठाको ३० लाख रुपैयाँ पुर्याइएको छ भने वडा नम्बर ५ ख कै शाखा पिच सडकसँग जोडिएका जग्गाको मूल्याङ्कन २४ लाख प्रतिकट्ठा पुर्याइएको छ । यता वडा नम्बर ५ ख कै दायाँबायाँ सडकसँग जोडिएका जग्गाको मूल्याङ्कन कट्ठाको १९ लाख रुपैयाँ छ भने भित्री सडकसँग जोडिएका जग्गाको मूल्याङ्कन कट्ठाको ८ लाख रुपैयाँ छ । यता वडा नम्बर ५ का बाँकी सम्पूर्ण जग्गाको मूल्याङ्कन कट्ठाको ३ लाख रुपैयाँ तोकिएको छ । 

साविक भादगाउँ सिनुवारी वडा नम्बर ६ क का मुल तथा पक्की सडकसँग जोडिएको जग्गाको मूल्याङ्कन कट्ठाको १९ लाख पुर्याइएको छ भने भित्री पक्की सडकले छोएका जग्गाको मूल्याङ्कन १५ लाख छ । यता, वडा नम्बर ६ क का दायाँबायाँका सडकसँग जोडिएका जग्गाको मूल्याङ्कन १३ लाख कट्ठा र भित्री सडकसँग जोडिएका जग्गाको मूल्याङ्कन ७ लाख कट्ठा तोकिएको छ । साविक भादगाउँ सिनुवारीका वडा नम्बर १, ७,८ र ९ का पक्की सडकसँग जोडिएका जग्गाको मूल्याङ्कन कट्ठाको १२ लाख छ भने शाखा पक्की सडकसँग जोडिएकाको मूल्याङ्कन कट्ठाको १० लाख रुपैयाँ छ । सोही स्थानको भित्री सडकसँग जोडिएका जग्गाको मूल्याङ्कन ४ लाख रुपैया छ । 

यता रामधुनी नगरपालिकाको साविक सिंगिया गाविसका मुल पक्की सडक तथा लोकमार्ग जोडिएका जग्गाको मूल्याङ्कन कट्ठाको ३० लाख पुर्याइएको छ । उत्त जग्गाको मूल्याङ्कन चालु आर्थिक वर्षमा २५ लाख रुपैयाँ थियो । यस्तै उक्त वडा ब्लकका शाखा तथा भित्री पक्की सडकसँग जोडिएका जग्गाको मूल्याङ्कन २४ लाख कट्ठा छ । साविक सिंगिया गाविसको वडा नम्बर १को भित्री सडकसँग जोडिएका जग्गाको मूल्याङ्कन कट्ठाको ८ लाख रुपैयाँ छ भने बाटो नभएका उक्त वडाका जग्गाको मूल्याङ्कन कट्ठाको २ लाख ५० हजार छ ।

यस्तै साविक सिंगियाको वडा नम्बर २ देखि ९ सम्मको मुल सडक तथा पक्की सडकसँग जोडिएका जग्गाको मूल्याङ्कन ८ लाख बाट १२ लाख पुर्याइएको छ । यीनै वडाको शाखा भित्री सडकसँग जोडिएका जग्गाको मूल्याङ्कन कट्ठाको ८ लाख छ भने उक्त वडाको दायाँबायाँ सडकसँग जोडिएका जग्गाको मूल्याङ्कन कट्ठाको ७ लाख र भित्री सडकसँग जोडिएका जग्गाको मूल्याङ्कन कट्ठाको ४ लाख राखिएको छ । साविक सिंगिया गाविसका बाटो नभएको जग्गाको मूल्याङ्कन कट्ठाको २ लाख रुपैयाँ छ । 

यस्तै साविक गुम्राहाको वडा नम्बर ६ को लोकमार्गसँग जोडिएका जग्गाहरुको मूल्य कट्ठाको १० लाख रुपैयाँ छ भने डुम्राहा गाविसको अन्य भित्री पक्की सडकहरुको जग्गाको मूल्य ८ लाख रुपैयाँ कट्ठा तोकिएको छ । त्यसैगरी, वडा नम्बर २,५,६ र ७ का दायाँबायाँ सडकसँग जोडिएका घडेरीको मूल्याङ्कन कट्ठाको ६ लाख रुपैयाँ छ भने साविक डुम्राहाको वडा नम्बर १,२,४,८ र ९ का दायाँबायाँ सडकसँग जोडिएका जग्गाको मूल्याङ्कन कट्ठाको ६ लाख रुपैयाँ छ । सोबाहेक साविक डुम्राहा गाविसका सडकले नछोएका जग्गाको मूल्याङ्कन कट्ठाको १ लाख रुपैयाँ तोकिएको छ । ती जग्गाहरु चालु आर्थिक वर्षमा ८० हजार कट्ठाको मूल्याङ्कनमा थिए ।