इटहरीः इटहरीको मुख्य चौक केही हप्ताभित्रै चिटिक्क बनेको देख्न पाइने भएको छ ।
इटहरीको इतिहास बोकेको चौकमा यातायातको व्यवस्थापनका लागि अब ‘स्मार्ट ट्राफिक लाइट’ जडान गर्ने कार्य अन्तिम चरणमा पुगेको छ भने चौकको मुख्य भागमा शालिकसमेत राखिने भएको छ । चौकलाई प्रदेश १ को प्रदेश १ को यातायात तथा सञ्चार मन्त्रालयको बजेटबाट व्यवस्थापनको काम भइरहेको इटहरी उपमहानगरपालिकाले बताएको छ । सवारीको व्यवस्थापन र दुर्घटना नियन्त्रणका लागि इटहरीको मुख्य चौकमा चारै तिरको दृष्य कैद हुनेगरी पिटिजेट क्यामरा जडान गरिसकिएको छ भने चौकको चारैतिर ट्राफिक लाइटको जडान गर्ने काम भइरहेको छ ।
इटहरी उपमहानगरपालिकाले समन्वय गरिरहेको उक्त प्राजेक्टमा वडा नम्बर ६ का वडाध्यक्ष दिवस पोखरेल र नगरप्रमुख हेमकर्ण पौडेल बढी खटिएका देखिन्छन् । बुधबार प्रदेश पोर्टलसँगको कुराकानीमा नगरप्रमुख पौडलले अबको एक महिनामा चौकको सौदर्यीकरणको सम्पूर्ण काम सकिने बताएका छन् । चौकको सौन्दर्यीकरणमा बीच भागमा शालिक पनि राखिने नगरप्रमुख पौडेलले बताए । पहिले पूर्वराजा स्व वीरेन्द्र शाहको शालिक राख्ने अभिव्यक्ति दिएका पौडेलले अहिले शालिकचाहिँ राखिने तर कसको राख्ने भन्ने निर्णय भइनसकेको प्रदेश पोर्टललाई बताएका छन् ।
शालिक जसको राखिए पनि चौकको नाम भने वीरेन्द्र चौक नै रहने पौडेलको भनाइ थियो । चौकको पूर्वलाइन, पश्चिमलाइन , धरानलाइन र विराटनगरलाइन गरी चारैतिर मानिसको आवतजावत हुने फुटपाथदेखि जेब्रा क्रसिङसमेत राखिने र त्यहाँ रोक्न र हिँड्नको लागि सांकेतिक लाइटको समेत व्यवस्था गरिसकिएको छ । सांकेतिक ट्राफिक लाइटहरु ढिलोमा एक हप्ताभित्र सन्चालनमा आउने इटहरी वडा नम्बर ६ का वडाध्यक्ष दिवस पोखरेल बताउँछन् । सवारीसाधनहरू निश्चित स्थानमा राखिएका ट्राफिक लाइटको सङ्केतअनुसार चल्ने भएकाले सोही प्रयोग गर्न इटहरीले जेव्रा क्रसिँग र सवारीको लागि समेत लाइट र संकेतको व्यवस्था गर्ने भएको हो ।