इटहरीः सुनसरी जिल्लाभरि काम गर्ने कामदारको दैनिक ज्याला चालु आर्थिक वर्षको तुलनामा केही बढ्नेगरी दर निर्धारण समितिले नयाँ ज्याला दर सार्वजनिक गरेको छ । 

सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा बसेको दर निर्धारण समितिको गत शुक्रबारको बैठकले विभिन्न पदको फरकफरक ज्याला वृद्धि गरी सार्वजनिक गरेको छ । जसअनुसार चालु आर्थिक वर्षमा ८५० रुपैँया रहेको दक्ष डकर्मीको दैनिक ज्याला ९२६ रुपैयाँ बनाएको छ भने अर्धदक्ष डकर्मीको ज्याला ७३० बाट बढाएर ७९५ रुपैयाँ पुर्याइएको छ । दक्ष र अर्धदक्ष डकर्मी, नकर्मी, बज्रकर्मी र सिकर्मीको दैनिक ज्याला समान तोकिएको छ भने रङ लगाउने पेन्टरको दैनिक ज्याला दक्षको ९२६ रुपैयाँ छ । अर्धदक्ष पेन्टरको ६९५ बाट बढाएर ७५७ रुपैँया कायम गरिएको छ । यता, ग वर्गमा रहेको रोड पेन्टरको दैनिक ज्याला भने ८४० रुपैँयाबाट बढाएर ९१५ रुपैयाँ बनाइएको छ । 

यता, ज्यामीको दैनिक ज्याला भने कम छ । ज्यामी नाइकेको दैनिक ज्याला ६९० रुपैयाँबाट ७५२ पुर्याइएको छ भने साधारण ज्यामीको दैनिक ज्याला ६४० बाट बढाएर ६९७ रुपैयाँ कायम गरिएको छ । तर जोखिमपूर्ण काम गर्ने सेफ्टी ट्याङ्क, धारा, विद्युतका ज्यामीको ज्याला भने ७५२ रुपैयाँ छ । यसैगरी, चेनम्यानको दैनिक ज्याला ६५० रुपैयाँबाट बढाएर ७०८ रुपैयाँ पुर्याइएको छ । यस्तै, पालेको नाइकेको ज्याला ७५७ रुपैयाँ, दिउँसोको पालेको ज्याला ७४१ रुपैयाँ र रातिको पालेको ज्याला ७५७ रुपैयाँ कायम गरिएको छ । यता कार्यालय सहयोगीको दैनिक ज्याला भने ८०५ रुपैयाँ कायम गरिएको छ । दर निर्धारण समितिले खरिदार स्तरको कम्प्युटर अपरेटरको दैनिक ज्याला १ हजार ८१ रुपैयाँ कायम गरेको छ भने नायबसुब्बा स्तरको अपरेटरको ज्याला १ हजार १४१ रुपैँया तोकेको छ । 

यसैगरी, सर्भेयरको दैनिक ज्याला ९८१ रुपैयाँ, ल्याब व्वायको ७७३ रुपैयाा र हेवी ड्राइभरको दैनिक ज्याला ८७२ रुपैयाँ छ । लाइट ड्राइभर तथा जुनियर मेकानिकको ज्याला ८२८ रुपैयाँ, अपरेटरको दैीनक तलब ७८४ रुपैयाँ, हेल्परको दैनिक तलब ६७५ रुपैयाँ र डोजर अपरेटरको ज्याला ९२६ रुपैयाँ कायम गरिएको छ । यता प्लम्बरको लेभल एकको दैनिक ज्याला दक्षलाई ९२६ र अर्धदक्षलाई ८१६ रुपैँया कायम गरिएको छ भने बिजुलीको काम गर्ने राजपत्र अनङ्कित द्वित्तीय श्रेणीका श्रमिकलाई १ हजार ८१ रुपैयाँ र सहायकलाई ७५७ रुपैयाँ कायम गरिएको छ । यता हेल्पर, मेकानिक्स हेल्पर र लाइनम्यान हेल्परको भने ७३५ रुपैयाँ ज्याला तोकिएको छ । सुनसरी जिल्लाभरिको लागि ज्याला निर्धारण समितिले सुपरभाइजरको १ हजार ८१ रुपैयाँ, असिस्टेण्ट सुपरभाइजरको ९१० रुपैयाँ , लेन्थ वर्कर सुपरभाइजरको ७३५ रुपैयाँ र सहायक लेन्थ वर्करको ७०८ रुपैयाँ दैनिक ज्याला तोकेको छ । 

ब्लाष्टरको ९८१ रुपैयाँ, ड्रिलरको दक्षलाई ७३५ र हेल्परलाई ६८१ रुपैयाँ, पम्प हेल्परलाई ६८१ रुपैयाँ, मालीको चौथो श्रेणीलाई ८५७ रुपैँया ज्याला निर्धारण भएको छ भने जेनेरेटर अपरेटरलाई दक्षको ७४१ र हेल्परको ६७० रुपैयाँ ज्याला छ । उता निटिल मेसिन अपरेटरको ६७०, क्याम्प वर्करको ६७० र द्वित्तीय श्रेणीको डोजर अपरेटरको १ हजार ८१ रुपैयाँ ज्याला छ । यान्त्रिक उपकरण रोलर, डोजरको भाडादरमा हेभी इक्विपमेन्ट डिभिजन इटहरीको ज्यालादरलाई कायम गर्ने निर्णय भएको छ भने विटुमिन स्प्रेयर, औषधि स्प्रे म्यान र फोर म्यानलाई ८२८ रुपैयाँ ज्याला कायम गरिएको छ । यसैगरी, पहाड तर्फको भरियाको ज्याला प्रतिकेजी ३ रुपैँया १० पैसा कायम गरिएको छ । चालु आर्थिक वर्षमा उनीहरुको ज्याला २ रुपैयाँ ६३ पैसा थियो । यस्तै तौल कम हुने सामान र अप्ठेरो सामानको प्रतिकिलो ३ रुपैँया ४० पैसा र तराई तर्फको भरियाको ज्याला भने प्रतिकिलो २ रुपैँया ८० पैसा मात्र छ ।