धरानः सुनसरीको धरानस्थित बुढासुब्बा मन्दिर परिसरमा रहेको टुप्पो नहुने बाँस नष्ट हुने अवस्थामा पुगेकोले संरक्षण कार्य थालिएको छ । मन्दिरअगाडि पश्चिमोत्तर र दक्षिणतर्फ बाँसका चार ठूला झ्याङहरु छन् । बुढासुब्बाको किम्वदन्तिसंगै जोडिएको उक्त बाँसको प्रजाति तीन शताब्दी पुरानो भएको मानिन्छ ।

दशकयता बाँसमा नयाँ तामा नलाग्दा झ्याङको बीच भाग खाली हुँदै आएको छ । झ्याङको वरिपरि सिमेन्टको टेवा पर्खाल लगाइएको थियो । सोही अवस्थामा रहे बाँस बिस्तारै नष्ट हुने सरोकारवालाहरुले चिन्ता गर्न थालेका थिए । यसबारे गतवर्ष मन्दिरका पूजारी उत्तम आलेमगरले उपमहानगरपालिकालाई ध्यानाकर्षण गराएका थिए ।

उनका अनुसार वनस्पति विज्ञले अध्ययन गरी सिमेन्टको टेवा घेराले बाँसलाई अवरोध गरेको प्रतिवेदन दिएपछि उपमहानगरपालिकाले संरक्षण कार्य थालेको हो । अहिले सिमेन्टको टेवा पर्खालसहित बनाइएको श्रद्धालु बस्ने ठाउँ हटाइएको छ । बाँसको लागि १० फिट ठाउँ छोडेर सिमेन्टबिना नै ढुङ्गाको टेवा उठाउने कार्य धमाधम भइरहेको छ ।

संरक्षण कार्यका लागि चालु आर्थिक वर्षको बजेटबाट कुल १० लाख रुपैयाँको लागत अनुमान तयार भएकोमा उपमहानगरपालिकाले ९ लाख र बाँकी उपभोक्ता समितिले व्यहार्नुपर्ने छ । अहिले संरक्षण कार्य भइरहेको बाहेक दक्षिणतर्फ ठूलो झ्याङको अवस्था पनि त्यस्तै छ । सामाजिक अभियन्ता प्रेम पराजुलीले भने ‘नगरपालिकाले आउँदो बजेटमा त्यस्को लागि बजेट छुट्याउन जरुरी छ ।’

यसअघि बुढासुब्बाको बाँस नष्ट हुन लागेको समाचार मिडियामा आएपछि तत्कालीन नगरप्रमुख तिलक राईले दुई पटक स्थलगत अवलोकन गरेका थिए । पछिल्लो पटक केन्द्रीय प्रविधि क्याम्पसका वनस्पतिशास्त्रकी प्राध्यापक सञ्जु पराजुली सहितको टोलीलाई बाँसको अवस्था अध्ययन गरी संरक्षणका उपायबारे लिखित प्रतिवेदन पेस गर्न लगाइएको थियो ।

वनस्पतिशास्त्रकी प्राध्यापक पराजुलीका अनुसार बाँसको झ्याङलाई घेराउ गरी सिमेन्टको पर्खाल लगाएकोले बाँस प्रभावित भएको हो । बाँसको वंश वृद्धिका लागि सूर्यको प्रकाश र पानी आवश्यक हुन्छ । बुढासुब्बाको बाँसका झ्याङहरु बढेर प्रकाशको अभाव भएका बीचका भागमा बाँसको टुसा पलाउन नसकेको हो । सिमेन्टको संरचनाले पानी सोसेर राख्ने प्रकृया पनि अवरुद्ध भएको उनको भनाइ छ ।

बाँसको प्राकृतिक विकास प्रकृयामा झ्याङ बढ्दै गएपछि सूर्यको प्रकाश जतातिर बढी हुन्छ त्यतैतिर नयाँ झ्याङ बढ्दै जाने स्वभाव हुने बताउँदै पराजुलीले भनिन् ‘यँहा बाँस झ्याङलाई घेराउ गरी सिमेन्टको पर्खाल लगाएकोले प्राकृतिक रुपमा बाँस अघि बढ्न पाएको देखिएन् ।’ यस्तै अवस्था रहेमा नयाँ बाँस पलाउने प्रकृया अवरुद्ध हुनसक्छ ।

पूजारी आलेका अनुसार गएको ७–८ वर्षयता बुढासुब्बाको बाँसका झ्याङहरु बीचमा नयाँ तामा नलागी खाली हुँदै गएको देखिन थालेको हो । हरियो बाँसका बोटहरुमा खोपेर श्रद्धालु युवायुवतीले प्रेमको चिनोस्वरुप नाम लेख्ने प्रचलन बढेको थियो । त्यसले बाँसको वृद्धिमा असर पु¥याएको अनुमान गरी बाँस खोप्न प्रतिबन्ध लगाइएको थियो । त्यसै अवधिमा सिमेन्टको दुईदेखि तीन फिट सम्मको टेवा उठाएर बाँसलाई तारजालीसमेत लगाइएको हो ।

289941747_717587796174569_7777195442506067992_n

बुढासुब्बा विजयपुरको इतिहाससँगै जोडिएको पाइन्छ । त्यस आधारमा यहाँको बाँसको प्रजाति तीन शताब्दी पुरानो मानिएको हो । पृथ्वीनारायाण शाह एकीकरण अभियानका समयमा वि।सं। १८३० मा तत्कालीन चैनपुर हुँदै विजयपुरतिर आएको अनुसन्धाता अर्जुनबाबु माबुहाङले उल्लेख गरेका छन् । लिम्बुवानका अर्का अनुसन्धाता डा।कमल तिगेलाका अनुसार त्यसअघि सेनहरुले विजयपुरमा शासन गरेका थिए ।

पूजारी आलेका अनुसार उनका पुर्खाहरुलाई पूजाआजाको लागि प्रदान गरिएको निशान नेपाल एकीकरणभन्दा अघिको हो । पुरातत्व विभागबाट आएका विज्ञहरुले यस्को पुष्टि गरेको उनको भनाइ छ । त्यस बेलाका तरबारजन्य हातहतियारहरु पनि छन् । तर, निशानमा सम्वत भने छैन । डा।तिगेला भन्छन् ‘उक्त निशान सेनकालमा सेनवंशी राजाले दिएको हुनसक्छ ।’

बुढासुब्बाको बाँसमा टुप्पो नहुनुको कारणबारे किम्वदन्ति पनि छ । प्रागऐतिहासिक कालमा लिम्बू दाजुबहिनी शिकार खेल्दै विजयपुर आइपुगेपछि अलप भए । उनै शिकारीको धनुषवाण पलाएकोले बाँसको टुप्पो नभएको हो । बुढासुब्बामा दाजुको मुख्य र बहिनीको सुब्बेनी मन्दिर छ ।

बुढासुब्बाको टुप्पोबिनाको बाँसको प्रजातिका बारेमा आधिकारिक अनुसन्धान भएको पाइन्न । पहाडी क्षेत्रमा पाइने भालुबाँस प्रकृतिको उक्त बाँस भालुबाँस भने नभएको नर्सरी विज्ञ प्रेमप्रसाद पराजुलीले बताए । भालुबाँसमा सुकेपनि कडापन यथावत रहन्छ । बुढासुब्बाको सुकेको बाँस भने फोश्रो भएको पाइएको छ । उनले भने ‘यो बाँस कतै नपाइने लोप हुन लागेको बाँसको प्रजाति पनि हुनसक्छ ।’