इटहरीः सुनसरीको दुहबी नगरपालिका ३ स्थित दुहबी इनरुवा सडकखण्डमा ट्रिपरले ठक्कर दिँदा एक पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा भारतको बिहार राज्यस्थित सुपौल जिल्लाको गौनाहा गाजिपुर घर भई हाल दुहबी ५ मा डेरा गरी बस्ने ६० वर्षीया चन्द्रकलादेवी रहेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार आज बिहान ८ः४० बजे प्रदेश २ ३००१ ख २१०१ नम्बरको ट्रिपरले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।

घटनापछि आक्रोशित स्थानीयले दुहबी इनरुवा सडकखण्ड तथा कोसी राजमार्गको दुहबी खण्डमा टायर बालेर केहीबेर सडक अवरोध गरेका थिए । अप्रिय घटना हुन नदिन घटनास्थलको सुरक्षा व्यवस्था कडा पारेको प्रहरीले मोरङको बेलबारी नगरपालिका ८ घर भएका ट्रिपर चालक उमेश सार्कीलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ भने मृतकको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जनाएको छ ।