क्रिप्टोकरेन्सीको मूल्य घट्ने क्रम गत साता पनि रोकिएन। बिटकोइनजस्ता क्रिप्टोकरेन्सीलाई यसबाट करोडौँ डलर घाटा लागेको छ।

क्रिप्टोकरेन्सी बजारमा देखिएको सङ्कटले धेरै लगानीकर्तालाई तनाव दिइरहेको छ र त्यसमा बिटकोइनमा ठूलो लगानी गरेको एउटा देश पनि पर्छ।

मध्य अमेरिकी देश एल साल्भाडोरले नौ महिनाअघि बिटकोइनमा लाखौँ अमेरिकी डलर लगानी गरेर यसलाई कानुनी मुद्रा बनाएको थियो र नागरिकहरूलाई दैनिक किनमेल गर्न पनि बिटकोइन प्रयोग गर्न प्रेरित ग¥यो।

एल साल्भाडोरमा खानेकुरादेखि पेट्रोलसम्म र घरदेखि फुटपाथमा राखिएका सामानसम्म किन्न बिटकोइन प्रयोग गर्न सकिन्छ।

क्रिप्टोकरेन्सीलाई चलनचल्तीको मुद्रा बनाउने राष्ट्रपति नायीब बुकेलेको निर्णयले एल साल्भाडोरको अर्को मुद्रा डलरजस्तै बिटकोइन स्वीकार्य छ।

तर पछिल्लो क्रिप्टोकरेन्सी सङ्कटले यो नीतिबारे प्रश्नहरू खडा गरेको छ।

उक्त देशसँग भएका २,३०० बिटकोइनको मूल्य सरकारले तिरेको मूल्यभन्दा आधा भएको छ तर अर्थमन्त्रीले आलोचनालाई बेवास्ता गर्दै ’एकदमै न्यून आर्थिक जोखिम’ रहेको बताएका छन्।

आफ्नो निर्णय उल्ट्याउन परिरहेको बढ्दो दबावबाट सरकारलाई कुनै प्रभाव परिरहेको जस्तो देखिँदैन। उसले क्रिप्टोकरेन्सीका लागि महत्त्वाकाङ्क्षी योजनाहरू पनि अघि सारेको छ।

बिटकोइन समुद्री तट
एल साल्भाडोरमा बिटकोइन अभियान सुरु भएको ठाउँ दक्षिण तटमा अवस्थित एउटा सानो सर्फिङ खेल्न र माछा मार्न आउनेहरूको सानो नगर एल जोन्ते हो।

त्यहाँ सन् २०१९ मा एक जना नाम नखुलेका व्यक्तिले सो नगरका मानिसहरूलाई क्रिप्टोकरेन्सीको ठूलो चन्दा दिएका थिए।

कसैले पनि ती व्यक्ति को थिए भन्ने थाहा पाएका छैनन् तर त्यसमा के सर्त थियो भने उक्त नगरले उक्त बिटकोइनलाई डलरमा सटही गर्न नपाउने सर्त थियो।

उक्त अवधारणाको लक्ष्य विश्वकै पहिलो बिटकोइन अर्थतन्त्र निर्माण गर्नु रहेको थियो।

त्यसमा मानिसहरूले इन्टरनेट नगद प्रणाली अर्थात् बिटकोइनकै माध्यमबाट भुक्तानी गर्न र त्यसरी नै गुजारा गर्न सकून् भन्ने उद्देश्य थियो।

यो क्रान्तिकारी अवधारणा हो।

बाँकी विश्वमा बिटकोइन अनलाइन खरिदहरूका लागि प्रयोग गरिन्छ तर कतिपय अवस्थामा चल्तीका क्याफेहरू वा एकाध परियोजनाहरूमा बाहेक पसलहरूको यसको प्रचलन छैन।

एल जोन्तेले अहिलेसम्म करिब तीन लाख ५० हजार डलर नाम नखुलाएका प्रायोजकबाट प्राप्त गरेको छ।

बिटकोइन तट भनिने उक्त सानो र सुन्दर नगरका लागि त्यो महत्त्वपूर्ण रकम हो।

त्यसरी लाभ पाउनेमध्ये एक जना केटरिना कोन्ट्रेरास थिइन्।

दुईवर्षअघि महामारीको समयमा उनले समुद्रमा पौडी खेल्न आउनेहरूको जीवन रक्षाको तालिम पाइन् र त्यसमा आकर्षक प्रस्ताव गरिएको जस्तो उनलाई लाग्यो।

आयोजकहरूले तालिम लिन आउनेहरूको यातायात र खानेकुराको खर्च बिटकोइनमा तिरे।

उनी भन्छिन्, “त्यसपछि छ महिनासम्म हामीले लाइफ गार्डको काम ग¥यौँ र हाम्रो ज्याला बिटकोइनमा पायौँ।“

उक्त नगरका कतिपय व्यवसायीहरूले आफ्नो व्यापार ३० प्रतिशतसम्म बढेको बताएका छन्।

तर बिटकोइनलाई स्वीकार गर्ने विषय जटिल देखिन्छ।

मेरो यात्राबाट के निष्कर्ष निस्क्यो भने बिटकोइन तटबाट जति तपाईँ अघि बढ्नुहुन्छ त्यति नै तपाईँले बिटकोइनले सामानहरू खरिद गर्ने सम्भावना न्यून हुन्छ।

बिटकोइन तटमा आधाभन्दा बढी व्यापारीले बिटकोइन स्वीकार गरे तर ८० मिनेटको यात्रामा रहेको राजधानी सान साल्भाडोरमा एक चौथाईले मात्र त्यसलाई स्वीकार गरेका थिए।

चिभो वालेट
सरकारले देशको बिटकोइन कानुनले बाध्यकारी बनाएको भएपनि व्यापारिक जगतलाई बिटकोइन प्रयोग गर्न बाध्य पार्ने आफ्नो कुनै योजना नरहेको बताएको छ।

आधाभन्दा बढी एल साल्भाडोरका मानिसहरूको ब्याङ्क खाता समेत छैन र त्यहाँ नगदबाटै धेरै कारोबार गरिन्छ।

राष्ट्रपति बुकेलेले बिटकोइनलाई मुद्रा सरह मान्यता दिने घोषणा एउटा बिटकोइन सम्मेलनमा गरेका थिए

राष्ट्रपति बुकेलेले बिटकोइनलाई मुद्रा सरह मान्यता दिने घोषणा एउटा बिटकोइन सम्मेलनमा गरेका थिए

तर राष्ट्रपति नागरिकका दुई करोड अमेरिकी डलर बिटकोइन एप चिभोमा लगानी गर्ने निर्णय राष्ट्रपतिले गरेका थिए।

उक्त एप डाउनलोड गर्ने जोकोहीले पनि त्यसमा जोडिए बापत ३० डलर प्राप्त गर्छन्।

त्यसबाटै ६५ लाख जनसङ्ख्या भएको सो मुलुकमा उक्त एप किन ४० लाख पटक डाउनलोड गरियो भन्ने प्रस्ट हुन्छ।

तर धेरै जनाले उक्त एप बिटकोइनबाट कारोबार गर्न नभई डलरबाट कारोबार गर्न प्रयोग गर्छन्।

उदाहरणका लागि देशबाहिर काम गर्ने व्यक्तिले आफ्ना परिवारलाई पैसा पठाउन यसको प्रयोग गर्छन् किनभने यसमा कुनै शुल्क लाग्दैन।

सुरुमा चिभोप्रति व्यापक आकर्षण रहेको भएपनि अहिले मानिसहरूले यसको प्रयोग कम गर्न थालिसकेका छन्।

फेब्रुअरीको अन्त्यमा देशको सबैभन्दा अत्याधुनिक पशु अस्पताल खुलेसँगै उक्त एप प्रयोग गर्दाको अर्को लाभको ढोका खुलेको थियो।

घरपालुवा जनावरहरूको उपचारका लागि मानिसहरूको ठूलो भिड लागेको थियो।

किनभने सबै खालका पशु स्याहार जसमा गम्भीर प्रकारका शल्यक्रिया पनि पर्छन् त्यसको मूल्य चिभो एपबाट तिरेसम्म र त्यसमा पनि बिटकोइनको माध्यमबाट तिर्दा जम्मा २५ सेन्ट पर्थ्यो।

चिभो पेट एल साल्भाडोरको सबैभन्दा ठूलो पशु अस्पताल हो

बिटकोइनको नाफाबाट उक्त केन्द्र सञ्चालन गरिने त्यहाँका कर्मचारीले बताएपनि सरकारी अधिकारीहरूले कसरी ती नाफा आर्जन हुन्छन् भन्नेबारे गरिएको प्रश्नको जबाफ दिएका छैनन्।

सार्वजनिक सम्पत्ति
अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफले एल साल्भाडोरलाई बिटकोइनलाई वैध मुद्रा बनाउने आफ्नो निर्णय उल्टाउन सुझाव दिइरहेको छ।

बिटकोइन ज्यादै अस्थिर रहेको उक्त संस्थाको तर्क छ जसमा कैयौँ स्थानीय अर्थशास्त्रीहरू पनि सहमत छन्।

स्थानीय अर्थशास्त्री तातीआना मारोकिनले जोखिममा रहेका मानिसहरूलाई सघाउन सरकारसँग पर्याप्त रकम नभएको भन्दै सरकारले सार्वजनिक सम्पत्तिलाई क्रिप्टोकरेन्सीमा खन्याउने घातक कदम चाल्न नहुने बताइन्।

उनले त्यसमा पारदर्शिता पनि नभएको उल्लेख गरेकी छन्।

एल साल्भाडोरका राष्ट्रपतिले बिटकोइन खरिद गर्दाको र पछिल्लो अवस्थाको बिटकोइनको मूल्य तुलना गरिएको ग्राफ

तर एल सल्भाडोरकी पर्यटन मन्त्री मोरिना भाल्डेजले बिटकोइनको मूल्य घटिरहेको भएपनि आफ्ना देशका नागरिकहरूले राष्ट्रपतिप्रति विश्वास राखेको बताइन्।

उनले राष्ट्रपतिका प्रत्येक निर्णय सही समयमा आएको भन्दै देशको अर्थतन्त्र जुन दिशामा गइरहेको छ त्यसप्रति मानिसहरूको भरोसा रहेको उल्लेख गरिन्।

क्रिप्टो बजारमा पछिल्लो सङ्कट देखा पर्नुअघि एल साल्भाडोरको जस्तो प्रयास अरू देशहरूले पनि गर्ने ठानिएको थियो।

तर अहिलेसम्म मध्य अफ्रिकी गणतन्त्र सीएआरले मात्रै त्यसो गरेको छ।

त्यहाँका राष्ट्रपतिले बिटकोइनलाई ’विश्वव्यापी मुद्रा’ भन्दै कानुनी बनाउने घोषणा ट्विटरमार्फत गरेका थिए।

तर एल साल्भाडोर भने अझै अघि बढ्न चाहेको देखिन्छ।

त्यहाँका नयाँ राष्ट्रपतिले ज्वालामुखीको फेदमा नयाँ बिटकोइन सहर निर्माण गर्ने योजना सार्वजनिक गरेका छन्।

त्यसले जीओथर्मल ऊर्जा प्रदान गर्ने र त्यसले एउटा ठूलो बिटकोइन उद्योग निर्माणमा सघाउने भनिएको छ।

उनले एक अर्ब अमेरिकी डलर बराबरको प्रतीतपत्र बिक्री गर्ने अपेक्षा गरेका छन्।

उक्त कामको सुरुवात मार्चमा नै गर्ने भनिएको भएपनि त्यसो हुन सकेको छैन।

अधिकारीहरूले उनीहरूले उक्त रकम जम्मा गर्नसक्ने र अहिले तिर्नुपर्ने देखिएको ८० करोड अमेरिकी डलर बराबर विदेशी ऋण तिर्नसक्ने अपेक्षा गरेका छन्।

तर क्रिप्टो करेन्सीको सङ्कटले बिटकोइनमा लगानी गरेर ठूलो जोखिम उठाएको सरकारमाथि दबाव बढाउन सक्ने देखिन्छ। -बीबीसीबाट