इटहरीः घर भान्साको काम हुँदा घर भान्सामा नत्र गफिएर कुरा काटेर बस्ने इटहरी ३ पुरानचोक आसपासकाका महिलाहरु आजभोली कहिले तरकारी बारीमा तरकारी टिपिरहेका भेटिन्छन् कि त गोडमेल र नयाँ योजना बनाइरहेका भेटिन्छन् । महिलाहरको इच्छाशक्ति इटहरी उपमहानगरपालिकाको सहयोग र प्रशिक्षकको ज्ञानले उद्यमी बन्न उनीहरको ध्यान तानेको छ ।
कामकाजी महिलाहरुबाट पनि केही गर्न सकिन्छ भनेर सक्रिय बनेका सृजनशिल कृषी उद्यमी महिला समुह गठन गरेर अगाडी बढेका महिलाहरुले कृषीका क्षेत्रमा मनग्गै ज्ञान हासिल मात्रै गरेका छैनन उद्यमी समेत बनेका छन् । कृषी प्रयोजन, फलफुल खेती तथा अन्नबाली लगाउने भनेरै कृषी उद्यमी महिला समुह बनाएका उनिहरुले पहिलो बर्ष सयपत्री फुल लगाएर निकै राम्रो आम्दानी गर्न सफल भएका थिए । तिहार नजिकिँदै गएको र कोरोनाको महामारीका कारण तिहारमा सयपत्री फुल टाढाबाट आउन नसक्ने र यहाँ माग बढ्ने अध्ययन पछि शुरु भएको सयपत्री फुल खेतीले उनिहरुलाई अझै राम्रो आकर्षक कृषीकर्म गर्न उत्साह दिएको छ ।
पन्ध्र्र कट्ठा जग्गा भाडामा लिएर सयपत्री फुलखेती मार्फत कृषी कर्म सुरु गरेका यी महिलाहरु फुलको सिजन सकिनासाथ आलु रोप्ने र आलुको काम सकिएपछि हरियो तरकारी रोप्ने काममा लागेका छन् ।
सृजनशिल कृषी उद्यमी महिला समुहले अहिले पनि साढे ५ कट्ठा जमिनमा भिण्डि, घिरौला, फर्सिका मुण्टा जस्ता तरकारी बिक्रि गरेर मासिक राम्रै आम्दानी गर्छन् । उपमेयर आत्मनिर्भर कार्यक्रम अन्तर्गत इटहरी उपमहानगरपालिकाबाट २ लाख रुपैँया अनुदान सहयोगमा सयपत्री फुल खेतीबाट सुरु भएको सृजनशिल कृषी उद्यमी महिला समुहमा २० जना महिला सक्रिय कृषीमा लागेका छन् । जग्गा भाडामा लिएर कृषी कर्म सुरु गरेका उनीहरु कामको चाप र आवश्यकता अनुसार कहिले दैनिक भेट हुन्छन् त कहिले हप्तामा एक दिन ।
स्थानीय पवित्रा कोइरालाको अध्यक्षतामा गठन भएको सृजनशिल कृषी उद्यमी महिला समुहले नियमित मासिक रुपमा सानो बचत समेत गर्ने गरेको छ । आफ्नै समुहका महिलालाई साह्रो खाँचो पर्दा सापटीको रुपमा चलाउन सकिने गरी गरिने बचत सुरु गरेका उनिहरु बचत भेटभाटको वाहानामात्रै भएता पनि अहिले आफुहरु आत्मनिर्भरता तर्फ अघि बढेको समुहमा आवद्ध महिलाहरुको भनाई छ । सृजनशिललाई डोर्याउने पवित्रा अहिले भने इटहरी उपमहानगरको वडा नम्बर ३ कि महिला सदस्य समेत हुन् । महिला लक्षित बजेट उपमहानगरबाट कमै मात्रामा छुट्टिने गरेको बताउने पवित्रा घरभित्र बसेका महिलालाई आत्मनिर्भर बनाउन सो शिर्षकमा आएको बजेटलाई अन्यन्त्र प्रयोग गर्न नहुने बताउँछिन् ।
चुलो चौकोमा सिमित रहने महिलाहरु आत्मनिर्भर कार्यक्रमहरु शुरु भएपछि व्यवाहारिक र व्यवसायीक खेतीका अभियान्ता बनेका छन् । इटहरी उपमहानगरपालिकाले आर्थिक बर्ष २०७६/०७७ को बजेट बाट बेरोजगार तथा गृहणी महिलाका लागि आत्मनिर्भर कार्यक्रमको योजना अघि सारेपछि महिलाहरुलाई चुलो चौकोमा मात्रै सिमित बनाएको छैन उनीहरु केही न केही रुपमा आय आर्जनमा समेत जोडिएका छन् ।
त्यसो त श्रीमान वैदेशिक रोजगारमा गएको हुँदा घर धन्दामा मात्रै सीमित भएकी इटहरी २० कि चन्द्रा बस्नेत अहिले दालमोठ भुजिया उत्पादन गर्ने उद्यमी भएकी छन् । औपचारिक शिक्षा समेत हासिल नगरेकी चन्द्रालाई अहिले उपमहानगरबाट सन्चालित तालिमले उद्यमी बनाईदिएको छ ।
इटहरी वडा नम्बर २० तरहरामा सन्चालन भएको ५ दिने दालमोठ भुजिया बनाउने तालिममा सहभागि भएदेखि उद्यमी बन्न प्रेरित भएकी चन्द्रालाई नगरले तालिममात्रै दिएन उद्योग स्थापना गर्न ३० हजार नगद सहयोग समेत गर्यो । नगरले दिएको सहयोगबाट उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थ र मेसिन खरिद गरेर उद्यमि बनेकी चन्द्रा सुरुका दिनमा बजारीकरण गर्न समस्या भएता पनि अहिले बजारले लय पक्रिएको बताउँछिन् ।
साक्षर नहुँदा तालिममा हासिल गरेका सबै कुरा नोट गर्न पनि असक्षम रहेको बताउँने चन्द्रा अहिले भने यसैबाट केही हुन्छ भन्ने लागेर उद्योग दर्ताका लागि घरेलु तथा साना उद्योग र गुणनियन्त्रण कार्यलय मा धाइरहेकी थिइन । उद्योग सुरु गरेदेखि उनको घर खर्च राम्रै चल्न थालेको छ । वैदेशिक रोजगारबाट भर्खरै फर्केर आएका श्रीमान पनि अव यही उद्योगलाई ठुलो बनाएर व्यवस्थित हिसावले अघि बढ्ने योजना बनाउँदैछन् ।
यता इटहरी वडा नम्बर १० मा ठेलामा खाजा नास्ताको व्यापार गर्ने कुसुम भनेर चिनिने कुमारी गिरीलाई पनि आत्मनिर्भर कार्यक्रमले गरिखाने बाटो बनाइदिएको छ । २ बर्ष अघि श्रीमानसँग डिभोर्स भएपछि एकल महिलाको रुपमा रहेकि कुसुम पहिला निर्माण मजदुरको रुपमा काम गर्दै थिइन् । व्लड प्रेसर, सुगर आदीको विरामी बनेपछि निर्माणको काम गर्न सकिनन् गर्न सक्ने काम भनेको सामान्य व्यपार व्यवसाय नै हो, तर सहयोग गर्ने कोही भएन् । पुरानो ठेला त थियो कुसुमको, तर त्यसलाई मर्मत गर्ने रकम समेत आफुसँग नहुँदा पिडित बनेकी एकल महिला कुमारीलाई इटहरी उपमहानगरपालिकाको आत्मनिर्भर कार्यक्रम मार्फत ठेला मर्मतको लागि केही खर्च र ग्यास चुल्हो, प्लेट, चम्चा र केही खाद्यान्न सामान समेत प्राप्त भयो ।
अहिले उनको देनिक ३ सय रुपैयाँ देखि १२ सय सम्मको व्यापार हुने गरेको छ । त्यही व्यपारमा आफ्नो खरिद कटाएर बाँचेको कुसुमको आम्दानी हो । ठेलाको व्यपारबाट भएको आम्दानीले एउटा छोरा, एउटी छोरीलाई शिक्षा दिने देखि लिएर लालन पालन समेत सहज भएको कुसुमको भनाई छ ।
आत्मनिर्भर कार्यक्रममा एकल भन्दा सामुहिक रुपमा केही गर्छौँ भन्दै जानेलाई बढी प्राथमिकता दिइने इटहरी उपमहानगरपालिका सामाजिक विकास शाखाकी शुसिला कार्की बताउँछिन् ।
दिदी बहिनी समुह इटहरी २० ले पनि सामुहिक रुपमा आत्मनिर्भरताको लागि सुन्दर पहल सुरु गरेका छन् । उनिहरुले ७ जनाको समुहमा दिदी बहिनी सिलाई कटाई सेन्टर सन्चालनमा ल्याएका छन् । घरयासी काममा सिमित रहेका महिलाहरुले आफैँ आत्मनिर्भर हुनुपर्छ भन्ने धारणा राखेर अरु महिलालाई समेत सहयोग पुग्ने गरी दिदि बहिनी समुह स्थापना गरेको संस्थाकी अध्यक्ष गोमादेवी सिंह बताउँछिन् ।
दिदी बहिनी समुहको सचिवको भुमिका लिलादेवि राईले निर्वाह गर्दै आएकी छन् । इटहरी १९ मा दिदि बहिनी समुहकै लगानीमा बंगुर फाराम समेत संचालन हुँदै आएको छ । गर्दा हुन्छ, हामी पनि गर्न सक्छौँ भन्ने हेतुले आत्मनिर्भर बन्न दिदि बहिनी समुह लागी परेको लिलाले सुनाइन ।दिदी बहिनी समुहलाई सिलाई कटाई तालिम संचालन गर्न नगरले १ लाख रुपैयाँ नगद सहयोग गरेको थियो त्यहि सहयोगबाट उनिहरुले सिलाईमै प्रयोग हुने इन्टरलक मेसिन खरिद गरेका छन् ।
दिदी बहिनी समुहका सदस्य र अन्य स्थानीय गरेर १५ जनाले तालिम लिए अहिले तालिम लिएकाहरु मध्ये केही महिलाहरु दिदी बहिनी सिलाई कटाई सेन्टरमै आएर पनि काम गर्दैछन् । उनिहरुलाई झोला, माक्स तथा अन्य जे सिलाई गरिन्छ त्यसमा प्रति गोटा सिलाई गरेको आधारमा आफुहरुले पारिश्रमिक दिने गरेको सचिव लिलादेवी राई बताउँछिन् । घरखर्च बाट बचेको पैसा लगानी गरेर उनिहरुले सगरमाथा पशुपालन तथा कृषी फर्म नामक सस्था समेत दर्ता गरेका छन् । आत्मनिर्भर कार्यक्रमले महिलाहरुलाई एकपछि अर्को सफलता हात लाग्दै गइरहेको छ ।
महिला दिदी बहिनीलाई रोजगारी दिन र सीप बेचेर खान पाउँदा आफुहरु खुसी भएको दिदि बहिनी संस्थाकी सदस्य सहमति राई बताउँछिन् । उपमेयर आत्मनिर्भर कार्यक्रम नाम दिइएको उक्त कार्यक्रम सिपमुलक तालिम र व्यावसाय प्रवद्र्धन गरी दुई मुख्य उदेश्यमा विभाजन गरिएको थियो यसका लागि उपमहानगरले प्रत्येक बर्ष ३० लाख रुपैँयाको हाराहारीमा रकम विनियोजन गर्ने गरेको इटहरी उपमहानगरपालिकाकी सामाजिक विकास अभिकृत माया राई बताउँछिन् ।
नगरपालिकाले २०७७ सालको बजेटमा व्यावसाय प्रवद्र्धनमा १० लाख र सीप विकास तालिममा १५ लाख रुपैँया विनियोजन गरेको थियो भने आर्थिक बर्ष २०७८ को बजेटमा व्यावसाय प्रवद्धनमा १५ लाख र सीप विकास तालिममा १५ लाख रुपैँया गरी ३० लाख रुपैयाँ उपमेयर आत्मनिर्भर कार्यक्रमका लागि विनियोजन भएको देखिन्छ । महिला आत्मनिर्भर कार्यक्रमलाई बजेट र योजनाले व्यावस्थित बनाउने हो भने आत्मनिर्भरका लागि महिला सहभागिता उच्च रहने देखिन्छ ।
उपमहानगरको उपमेयर आत्मनिर्भर कार्यक्रम अन्र्तगत विपन्न समूदायका महिलालाई डोनट, भक्का , पकौडा, कोहबर तालिम, कोशि खेती तालिम, नेपाली ढाका बुनाई तालिम, मासुको अचार बनाउने तालिम, फेविकल झोला वनाउने तालिम, परालको जुत्ता बनाउने तालिम लगायतका तालिम कार्यक्रम संचालन गर्ने गरेको छ भने व्यवसाय प्रवद्र्धन कार्यक्रम अन्तर्गत माला बनाउने सामाग्री खरिदका लागि सहयोग, विपन्न वर्गका महिलाका लागि मकै पोल्ने आधुनिक चुल्हो वितरण, सिलाई मेसिन वितरण, दुना टपरी उद्योगका लागि मेशिन खरिद गरी वितरण गर्ने लगायतका काम गरेको छ ।
इटहरी उपमहानगरकै कृषी शाखाबाट विरु लगेर भिण्डि रोपेका इटहरी ३ को सृजनशिल कषि महिला उद्यमी समुहले उनिहरुले यसपाला भने भिण्डिको बिरुवा राम्रो नहुँदा खासै फस्टाउन नसकेको निस्कर्ष निकालेका छन् ।
त्यसो त इटहरी २० मा सञ्चालन भएको दालमोड भुजिया बनाउने तालिममा ४० जनाले तालिम लिएपनि २ जनाले मात्रै व्यावसायीक रुपमा दालमोठ बनाउँदै आएका रहेछन् । तालिम लिएर उद्यमी बन्न अग्रसर नभएकाहरुको कारण पहिचान गरी व्यावसायमा अग्रसर बनाउन भने अझै सकिने देखिएको छ ।
कार्यक्रम शुरु भएको शुरुवाती दिनमा एक्ला एक्लै आउने महिलाहरुलाई पनि कसैलाई आर्थिक सहयोग त कसैलाई व्यवसायमा आवश्यक पर्ने सामाग्रि वितरण गर्दै आएको उपमहानगरले अहिले भने सामुहिक प्रयासलाई मात्रै सहयोग गर्ने गरेको छ । समुहगत रुपमा आउन केही झण्झटिलो हुने भएको हुनाले पनि व्यक्तिगत तवरबाट भन्दा कमै महिलाहरु आउने गरेका छन् । यसरी उपमहानगरबाट सहयोग लिन आउने महिलाहरुले समुहगत रुपमा घरेलु तथा नगरपालिकाको कृषि शाखामा व्यावसाय दर्ता गरेर मात्रै आउन नगरपालिकाले अनुरोध गरेको छ ।
आत्मनिर्भर कार्यक्रममा उपमेयरको संरक्षकत्व तथा संयोजकत्वमा ५ जनाको समावेसी समिति रहने र त्यही समितिको सिफारिसका आधारमा सीप मुलक तालिम र व्यावसाय प्रवद्र्धनका कार्यक्रममा नगरपालिकाले अनुदान सहयोग दिने गरेको इटहरी उपमहानगरपालिकाकी महिला विकास अधिकृत भोजकला दवाडीले बताइन ।
जसअनुसार उपमहानगरले शुरुमा महिलाहरुलाई लक्षित गरेर सीपमुलक तालिम संचालन गर्ने र त्यही सीप सिकेका महिलाहरुलाई आत्मनिर्भर बन्नका लागि व्यवसाय सञ्चालन गर्न प्रेरित गर्ने गरेको छ । तालिममात्रै आवश्यक पर्नेले आफ्नो व्यवसाय सञ्चालन गर्ने गरेका छन् भने कम आय भएकाहरुलाई नगरले व्यवसाय संचालनका लागि शुरुवाति पुँजी समेत दिने गरेको छ ।
तालिम र शुरुवाती पुँजी समेत पाएपछि घरगृहस्तीमा सीमित महिलाहरु अहिले कोही व्यवसायी बनेका छन् भने कोही स्वरोजगार बनेका छन् ।उपमहानगरकाले संचालन गरेको यस्ता आत्मनिर्भर कार्यक्रमबाट आर्थिक बर्ष २०७७/७८ सम्म ४ सय भन्दा बढी महिला आत्मनिर्भर बनेको उपमहानगरले दावी गरेको छ उपमहानगरले चालु आर्थिक बर्षमा पनि ३ सय २२ जना महिलाहरु प्रत्यक्ष र अन्य ९ समूह आत्मनिर्भर कार्यक्रमबाट लाभान्वित बनेको उपमहानगरको प्रगति विवरणले देखाएको छ ।
महिलाकालागि भनेर छुट्टाइएको बजेट महिलाकै लागि खर्च गरिनुपर्ने र सकेसम्म सो बजेटलाई वितरणमुखि नबनाई व्यवसायमुखी बनाउनु पर्ने महिलाहरुको सुझाव छ । महिलाका लागि सन्चालन गरिने आत्मनिर्भर कार्यक्रमलाई उत्पादनमुखी र कृषीमा केन्द्रित गर्नुपर्ने इटहरी २ कि सरिता कार्की बताउँछिन् । जसमा साना घरेलु उद्योग, सीपमुलक प्रशिक्षणहरुमा जोड दिनुपर्ने कार्कीको सुझाव छ ।
यता तालिम लिने समयमा धेरै सँख्यामा महिलाहरु उपस्थित भएपनि व्यवसाय संचालनका लागि भने कमै मात्रामा अग्रसर हुने गरेको पाइएको छ । धेरै जसो आत्मनिर्भरताका लागि सञ्चालन हुने सीपमुलक कार्यक्रमहरुमा पार्टी तथा जनप्रतिनिधिको पँहुच हुनेहरुमात्रै सहभागी हुने गरेको पाइएकोले त्यसलाई सबै महिलाको पहुचमा ल्याउनु पर्ने इटहरी २० कि गोमादेवी सिंहको बझाई छ । उता इटहरी ५ कि सुस्मा तिम्सिना भने महिलाका लागि सञ्चालन हुने आत्मनिर्भर कार्यक्रमहरु व्यवहारिक र उत्पादनमुलक हुनुपर्ने भनाई राख्छिन् ।